धरान : धरान वडा नं.-११ को आधारभूत स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।

शनिवार मेयर तिलक राईले धरान ११ को सुनौलो मार्गमा निर्माण गरिएको आधारभूत स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका हुन् । उक्त स्वास्थ्य चौकी भवन दिपादिल कन्स्ट्रक्सन ४३ लाख ६२ हजार १ सय ३० रुपैयाँ ७२ पैसामा (भ्याट, पी.एस. सहित) निर्माण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राईले धरानबासीहरुले सामान्य रोगको उपचारबाट वञ्चित भई आफ्नो ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले आधारभूत स्वास्थ्य चौकी भवन स्थापना गरिएको बताए । मेयर राईले भवनलाई बिस्तारै बढाउँदै लगेर प्रसूति गृह लगायत सञ्चालन गरिने बताए ।

उपमेयर मञ्जु भण्डारीले नगरपालिकाले स्वास्थ्य चौकी भवन बनाइदिएको, कर्मचारी खटाउने बताउँदै यसको संरक्षण गर्ने जिम्मेवारी नागरिकको भएको बताइन् ।

कार्यक्रममा वडाध्यक्ष बाबुलाल लामा, उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ लगायतले बोलेका थिए ।