धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आजदेखि सेवा बहिष्कार गरेका छन् ।

उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त सङ्घर्ष समितिले आन्दोलन कडा बनाउँदै आजदेखि इमरजेन्सी, कोभिड अस्पतालको सेवा र नियमित परीक्षा बाहेक अन्य सबै सेवा बहिष्कार गरेको संयुक्त सङ्घर्ष समितिका संयोजक डा. एसपी रिमालले बताए ।

प्रतिष्ठानमा असार १ गतेदेखि संयुक्त सङ्घर्ष समितिले सुद्धिकरण आन्दोलन जारी राखेको छ । अनियमितता, बेथिति बढेको भन्दै उनीहरूले पदाधिकारीहरूको राजीनामा र छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्दै आएका छन् ।

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको एक महिना बित्दा समेत आफ्नो माग सरकारले सम्बोधन समयमै नगरेकोले गर्दा आज सरकारलेनै सेवा बहिस्कार गर्न बाध्य बनाएको आन्दोलनकारीले बताएका छन् ।

आन्दोलनकर्मीसँग स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको १ महिना पुरा भएको छ । तर, सरकारले कार्यदलको प्रतिवेदनले दोषी औँल्याएका पदाधिकारीहरूलाई कारबाही गर्न चासो अझै देखाएको छैन । सरकारले छानबिन मात्र गर्ने र प्रतिवेदन कार्यान्वयन नगर्ने प्रवृत्ति दोहोर्‍याएको कारण आन्दोलनलाई थप कडा बनाउनुपरेको सङ्घर्ष समितिका संयोजक डा. एसपी रिमालले बताए ।

समितिका संयोजक डा.एसपी रिमालले सरकारले प्रतिवेदन र सहमति कार्यान्वयन गर्न ढिलो गरेकोले आज देखि आन्दोलनको स्वरूप परिवर्तन गरेर आन्दोलन गर्न बाध्य भएको बताए ।

चाहेको खण्डमा आफूहरूको माग सरकारले आधा घण्टामै सम्बोधन गर्न सक्छ तर सम्बोधन नभएकोले आज देखि आन्दोलनको स्वरूप परिवर्तन गरिएको आन्दोलनकारीले बताएका छन् ।

सेवा बहिस्कार गर्दा उपचारमा आएका बिरामीहरूलाई आन्दोलनकारीहरुले आन्दोलन स्थलबाटै सेवा दिइरहेको जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. पदम नेपालीले कपुरी न्युजलाई जानकारी दिए ।

Bp-Andolan-1 Bp-Andolan-2 Bp-Andolan-4 Bp-Andolan-3 Bp-Andolan-5