धरान : कोरोना महामारी कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो गर्दै असोज ४ गते सम्म १५ दिन निषेधाज्ञा थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको डिसिसिएमसीको बैठकले कोरोना महामारी कायमै रहेको र संक्रमणदर पनि कायमै रहेको भन्दै यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले बताए ।

विद्यालय सञ्चालन गर्नुपर्ने विषयमा निकै छलफल भएको भए पनि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने तर नगरी नहुने अवस्था भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय गराई सञ्चालन गर्न सक्ने निर्णय गरिएको छ ।

साप्ताहिक तथा अन्य हाटबजार सञ्चालन सम्बन्धमा स्थानीय तहहरूले आवश्यक निर्णय गरी कार्यान्वयन गर्ने । सो को लागि स्थानीय सुरक्षा युनिटहरूसँग आवश्यक समन्वय गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

अनावश्यक रूपमा मानिसहरू जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने, यस अवधिमा पर्ने चाडपर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रूपमा मात्र मनाउन पाउने, सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुवाट आर्थिक तथा व्यावसायिक गतिविधिहरू सञ्चालन गर्न नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र गर्न पाउने भनिएको छ ।

यसै गरी सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाउने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्नेछ अनिवार्य रूपमा सवारी साधन निसंक्रमित गर्नु पर्नेछ र अन्य तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने भनिएको छ ।

भारतीय नाकाहरूबाट आवतजावत गर्न पूर्ण निषेध गरिएको छ । सम्बन्धित स्थानीय तहले सङ्क्रमण दर वृद्धि हुँदै गएका आफ्नो क्षेत्रहरूमा आवश्यकता र औचित्य हेरी स्थानीय प्रहरीको सहयोगमा आवागमनमा रोक लगाउने वा सिल गर्न सक्ने सूचनामा उल्लेख छ ।

अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरू उपर कानुन बमोजिम कारबाही गरिने छ ।

कोभिड १९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित आकस्मिक अनुगमन हुनेछ । अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाइएमा कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही हुनेछ ।

सङ्क्रमण बढ्न गएमा यस आदेशमा भएका व्यवस्थाहरू कुनै पनि बेला पुनरावलोकन गर्न सकिने प्रमुख जिल्ला अधिकारी उमेश ढकालद्वारा जारी सूचनामा उल्लेख छ ।

Suchana-1 Suchana-2