विराटनगर : मुख्यमन्त्री भीम आचार्यले आइतबार मन्त्रालयका सचिवहरू, विभागीय प्रमुखहरूलाई बोलाएर जनताको काम चुस्त दुरुस्त गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयहरूका काम तीव्र रूपमा अगाडी नबढ्दा जनताले दुःख पाइरहेको बताउदैं विकास निर्माणका योजना, अड्किएका ठेक्का सम्झौता तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

उनले कामलाई केन्द्र विन्दुमा राखेर सबै कार्यालय प्रमुखहरूले काम गर्न निर्देशन दिए । ‘सबै साथीहरूले मेहनत गरिरहनु भएको छ । तर मेहनत परिणाममुखी हुन नसकेकाले कामलाई परिणाममुखी बनाउनुहोस् उनले भने ।

नियम , ऐनले बाधा भएका योजनाहरू, कार्यक्रमहरू भए तत्काल प्रमुख सचिवसँग समन्वय गरेर समाधान गर्न निर्देशन दिएका छन् । उनले दैनिक कार्य योजना बनाएर परिमाणमुखी काम गर्न सबै कर्मचारीलाई निर्देशन दिए ।

उनले मन्त्रालय, विभाग अन्तर्गतका आफ्ना कार्यालयका कर्मचारीहरूलाई राखेर छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन जारी गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुखहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर मुख्यमन्त्री आचार्यले निर्देशन दिएका हुन् ।

छलफलमा प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले सबै मन्त्रालयका सचिवहरूलाई मुख्यमन्त्रीको निर्देशन अनुसार काम कारबाही गर्न आग्रह गरे ।