धरान : सत्तारुढ दल नेपाली काँग्रेसको चौधौँ केन्द्रीय महाधिवेशनको लागि आज सुनसरीमा वडा अधिवेशन सुरु भएको छ ।

सुनसरीको २ उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिका गरी १२ पालिकाका १२४ वडाहरूमा आज एकै साथ  बिहान उम्मेदवारी दर्ता भइरहेको छ भने ११ बजे देखि मतदान सुरु हुने बताइएको छ ।

काँग्रेसले आगामी मङ्सिर ९ देखि १३ गतेसम्ममा चौधौँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी भदौ २६ गतेसम्ममा देशभरको वडा अधिवेशन सम्पन्न गर्ने जनाएको छ । भदौ २७ गते गाउँ, नगरपालिकाको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ ।

प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ५ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते र केन्द्रीय महाधिवेशन मङ्सिर ९, १०, ११, १२ र १३ गतेसम्ममा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको नेपाली काँग्रेसको कार्यतालिका छ ।