धरान : सङ्खुवासभाको मादी नगरपालिका १ खोलागाउँमा एकै घर परिवारको छ जनाको बीभत्स हत्या भएको छ ।

गए राति धारिलो हतियार प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको मादी नगरपालिकाका प्रमुख विदुर लिङ्थेपले कपुरी न्युजलाई जानकारी दिए ।

हत्याको घटना आज बिहान मात्र छिमेकीले थाहा पाएका थिए । छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको बताइएको छ । ५८ वर्षीय तेजबहादुर कार्की सहित उनकी आमा ८० वर्षीया पार्वता कार्की, ५६ वर्षीय श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको प्रहरीले जनाएको छ ।

मृतकहरूको शव घर वरिपरि फालिएको अवस्थामा भेटिएका छन् । घटनास्थलमा अहिले भर्खरै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली भने घटनास्थल पुगेको छ । प्रहरी आइपुगेसँगै घटनास्थलमा अनुसन्धान थालिएको मेयर लिङ्थेपले जानकारी दिए ।

घटनाको थप विवरण बुझ्न जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट पनि डिएसपी लालध्वज सुवेदी सहितको प्रहरी टोली घटनास्थलतर्फ आउँदै गरेको बताइएको छ । सङ्खुवासभाको सदरमुकाम खाँदारीबाट घटनास्थल पुग्न कम्तीमा ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।