धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज राजनीतिक दलले गरेको प्रदर्शनलाई धरान नागरिक दबाब सञ्जालले 'डेमोक्रेसीमा एउटा समूहले उठाएका शान्तिपूर्ण आन्दोलनलाई अर्को समूहले धैर्यता पूर्वक सुन्ने अभ्यास गर्नुपर्नेमा “ताला तोड्ने“ काम अराजकता र असहिष्णुताको पराकाष्ठा हो' भनेको छ ।

सञ्जालका संयोजक डा.राजेन्द्र शर्माले आफ्नो फेसबुकमा लेखेका छन् “यस्तो आचरणलाई बल पुर्‍याउनु कुनै पनि दृष्टिकोणले प्रजातान्त्रिक हुनै सक्दैन । नागरिक दबाब सञ्जाल यो उद्दण्डताको घोर निन्दा गर्दछ । वार्ताको टेबुलबाट समस्याको समाधान खोजौँ, बल मिच्याँईबाट हैन ।”

Rajendra

ओपिडी सेवा ठप्प हुने गरी संयुक्त सङ्घर्ष समितिले आन्दोलन गरेपछि नेकपा एमाले, राप्रपा र सङ्घीय लिम्बुवानले त्यस विरुद्ध प्रदर्शन गर्ने क्रममा आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान केहीवेर तनावग्रस्त बनेको थियो । राजनीतिक दलहरूले सङ्घर्ष समितिले उपकुलपति कार्यालयमा लगाएको तालासमेत तोडेको छ।

त्यस क्रममा प्रहरीसँग भिडन्त समेत भएको थियो । केही प्रहरी घाइते भएका छन् भने उपकुलपति कार्यालयको ताला फोड्ने क्रममा राजनीतिक दलका कार्यकर्ताहरूको सिसाले हात काटेर घाइते भएको बताइएको छ। राजनीतिक दलहरूले बीपीको सुद्धिकरण आन्दोलन प्रति समर्थन रहेको बताए पनि उपचार सेवा ठप्प भएकोले यसको विरोधमा उत्रिएको बताएका छन् ।

तर राजनीतिक दलको यस्तो कार्यलाई बीपीको सुद्धिकरणको माग गर्दै आन्दोलन गरिरहेको संयुक्त सङ्घर्ष समितिका संयोजक डा. एसपी रिमालले राजनीतिक दलले बीपीमा आज गरेको प्रदर्शन र तोडफोडको घटना निन्दनीय भएको बताएका छन् ।

बीपीमा चरम लापर्वही र बेथितिले गाँजेर प्रतिष्ठान धारासायी भइरहेको बेलामा राजनीतिक दलले खबरदारी गर्नुपर्नेमा हामीले गरिरहेको खबरदारीमा साथ दिनुको साटो मन्दिर जस्तो ठाउँमा यसरी संघातिक घटना राजनीतिक दलहरूले घटाउनु दुखद भएको उनले बताए । तर जस्तो सुकै परिस्थिति आए पनि आन्दोलन नरोकिने पनि उनले बताए ।

बीपीकै केही चिकित्सकहरू स्वास्थ्य सेवानै ठप्प पारेर गरिएको आन्दोलनको विपक्षमा रहेको पनि बताउँदै आएका छन् । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा टाढा टाढाबाट बिरामीहरू उपचार गर्न आउने भएकोले उपचार सेवालाई प्रभावित हुने काम गर्नु नहुने बताउँदै आएका छन् ।

BP-Pradasan-1