धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राख्दै ८४ दिन देखी जारी आन्दोलनमा प्रतिकार सुरु भएको छ । प्रतिष्ठानको आर्थिक अनियमिततामा मुछिएको भन्दै पदाधिकारीको राजिनामा माग गरेर कार्यकक्षमा लगाइएको तालाबन्दीको विरोधमा स्थानीय राजनैतिक दलहरूले प्रतिकार गरेका छन् ।

लामो समयको आन्दोलनले प्रतिष्ठान लथालिङ्ग भएको भन्दै विरोधमा उत्रीएको उनीहरुको भनाई छ । उपकुलपतिको कार्यकक्षमा लगाएको ताला फुटाएका दलका नेताहरुले बाध्यात्मक कदम भन्दै तर्क गरेका छन् । प्रतिकार पछि विज्ञप्ती निकालेका संघिय लिम्बुवान् मञ्च, नेकपा एमाले, राप्रपा नेपाल, राप्रपा लगायत दलहरूले आन्दोलनको बिरोध जनाएका हुन् ।

तालाबन्दी खोलेर आफूहरूले कर्तव्य पुरा गरेको उनीहरूको दाबी छ । आन्दोलनरत पक्षप्रति लक्षित गर्दै अधिकार मात्र खोज्ने कार्यले प्रतिष्ठान भित्र देखिएका चरम समस्याहरू समाधान नहुने तर्क गरेका छन् । “तत्काल स्वास्थ्य सेवा सुचारु नगरे हामी निरन्तर आन्दोलनमा रहने समेत चेतावनी दिन चाहन्छौ । तसर्थ प्रतिष्ठानले प्रदान गर्ने ओ.पि.डी. लगायतका सम्पूर्ण सेवाहरू तत्काल सुचारु गरी वि.पि. प्रतिष्ठान भित्र देखिएका सम्पूर्ण समस्याहरूको समाधानको वातावरण बनाउन प्रतिष्ठानलाई हार्दिक अनुरोध गर्दछौ,” विज्ञप्तिमा भनिएको छ ।

दलहरूको विज्ञप्ति सार्वजनिक भएकै दिन अस्पताल निर्देशक प्रा.डा गौरीशङ्कर शाहले विरोध कार्यक्रमको नाममा बिरामी उपचार सेवा अवरुद्ध हुनु गलत भएको भन्दै टिप्पणी गरे ।

बिरामी उपचार सेवा अवरुद्ध गरी सञ्चालन गरिएको विरोध कार्यक्रमले समस्या निम्त्याउने भन्दै उनले प्रतिष्ठानको प्रतिष्ठामा समेत आँच आएको विज्ञप्तिमा उल्लेख गरेका छन् । त्यससँगै उपचारमा बाधा पुग्ने प्रकारका कुनै पनि कार्यक्रम सञ्चालन नगर्न आन्दोलनरत पक्षसँग उनले अपिल गरेका छन् ।

dal-haru-press-releasegauri-big