इटहरी : विगत ४ महिना देखी जारी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आन्दोलनमा राजनितिक दलहरुले हस्तक्षेप गर्न थालेका छन् ।

प्रतिष्ठान सुधार गर्ने नाममा पदाधीकारीको कार्यकक्षमा तालाबन्दी गरेको भन्दै सोमबार दलका कार्यकर्ताहरूले तोडफोड समेत गरे ।

राजनैतिक दलले आन्दोलनको विरुद्धमा गरेको तोडफोड र सरकारको मौनताले प्रतिष्ठान भित्रको अनियमितता चोख्याउने काम भएको हुनसक्ने सङ्घर्ष समितिले ठहर गरेको छ। ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुद्धीकरण अभियान-२०७८’ द्वारा गठित संयुक्त सङ्घर्ष समितिले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारको मौनता माथि आशङ्का गरेको छ ।

उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनको आधारमा कारबाही गर्नुपर्नेमा आलटाल गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयको टोलीले गरेको ६ बुँदे सम्झौता र प्रा. डा. गोविन्द केसीसँग प्रधानमन्त्रीले गरेको सहमति कार्यान्वयन नभएको भन्दै समितिले आशङ्का उत्पन्न भएको बताएको छ।

यस्ता गतिविधिले सरकार प्रतिको विश्वसनीयतामा ठुलो प्रश्न मात्र उब्जिएको बताउँदै समितिले कतै अनियमिततामा मुछिएका र कारबाहीको सिफारिसमा परेकाहरूको बचाउमा त राज्य छैन भन्ने आशङ्का उब्जिएको जनाएको छ ।

सोमबार प्रतिष्ठान परिसरमा नेकपा एमाले, सङ्घीय लिम्बुवान् मञ्च, राप्रपा र राप्रपा नेपालले गरेको तोडफोडको घटनाप्रति खेद व्यक्त गरिएको छ । त्यस घटनाका दोषीलाई प्रचलित कानुन बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउन नेपाल सरकार गृह मन्त्रालयलाई जोडदार माग समेत गरिएको छ ।

समितिले चेतावनीको भाषामा दलका नाममा भएका आपराधिक क्रियाकलाप गर्ने समूहलाई तत्काल कारबाही प्रक्रिया अघि नबढाए अझै कठोर कदम चाल्न बाध्य हुने जनाएको छ ।

युद्धका बेलामा समेत अस्पताल शान्ति क्षेत्र रहने अन्तर्राष्ट्रिय मान्यता विपरीत दलका नेताहरू तोडफोडमा उत्रिएको समितिको ठहर छ । “न सुशासन छ, न समयमा तलब भत्ता छ, न सुरक्षा छ । गत वर्ष कै बढेको तलब/ कोभिड–भत्ता पाएका छैनौँ । प्रमोशन वर्षौँदेखि ठप्प छ ।

विगत ५ वर्षमा एक तिहाइ फ्याकल्टीहरू प्रतिष्ठानबाट पलायन भैसकेको र एक तिहाइ पलायन हुने क्रममा रहेको तथ्यले देखाएको छ ।, विज्ञप्तिमा भनिएको छ, “यी सबका बाबजुद पनि हामी सम्पूर्ण फ्याकल्टी, कर्मचारी, नर्स, चिकित्सक प्रतिष्ठानको सुद्धिकरणका लागि शान्तिपूर्ण तरिकाले आवाज उठाइरहेका छौँ । हामी आफ्नो अन्तर आत्मालाई साक्षी राखेर र यो संस्था हाम्रो ‘आमा’ हो भनेर सेवामा संलग्न भएका हौँ ।”

सेवाग्राहीहरूलाई इमर्जेन्सीबाहेकका सेवाका लागि केही दिन धैर्य धारण गर्न अनुरोध गर्दै इमर्जेन्सी भए नहिचकिचाई २४ सै घण्टा अप्रेसन गर्ने सेवामा लाग्ने उनीहरूले बाचा पनि गरेका छन् ।

लामो आन्दोलन पछि पनि सरकारले कदम नचाल्नु अनियमिततालाई चोख्याउने खेलमा लागेको हुनसक्ने उनीहरूले आशङ्का गरेका छन् ।

BP-Bigyapti-A BP-Bigyapti-B