झापा : एमसीसी सम्झौता गरेको नेपाली काँग्रेसले दोहोरो चरित्र देखाएको नेकपा एमालेका नेता अग्नि खरेलले आरोप लगाएका छन् । उनले सम्झौता गर्नेले कार्यान्वयन गर्नुपर्ने वा कार्यान्वयन नगरे यसबारे जनतालाई स्पष्ट पार्नुपर्ने धारणा राखेका छन् ।

प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले काँग्रेस सरकारले एमसीसी भित्रका कमीकमजोरी नहेरी सम्झौता बताएका छन् । सम्झौता गर्दा नहेर्ने अहिले प्रश्न सोध्ने ? खरेलले भने -'एमसीसीको मामिलामा काँग्रेसले जनतालाई जानकारी दिनुपर्छ।'

पत्रकार भेटघाटमा उनले एमसीसीमा काँग्रेस-माओवादीले राजनीति गर्न खोजेको बताएका छन् । तत्कालीन काँग्रेस सरकारले एमसीसी सम्झौता गर्दा संसद्मा लैजाने भनेका कारण एमाले सरकारमा हुँदा संसद्मा प्रस्तुत गर्न खोजेको स्पष्ट पारे । काँग्रेस, माओवादीकै इसारामा संसद्मा टेबुल गर्न सभामुख सापकोटाले नमानेको भन्दै अहिले तिनै दलका नेता एमसीसीका बारेमा मुखमा पानी जमाएर बसेको खरेलको भनाई छ ।

पूर्व मन्त्री खरेलले एमाले सरकारमा हुँदा बुरुक-बुरुक गर्नेहरू अहिले चुपचाप बसकोले संसद्मा एमसीसी आए एमालेले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । हाम्रो सरकार हुँदा संसद्मा टेबुल भएको थियो भने त्यसका कमीकमजोरी बारे छलफल पक्कै हुने थियो ।

खरेलले परमादेश सरकारको आयु सामेत लामो नभएको बताएका छन् । पत्रकार भेटघाटमा बोल्दै एमाले नेता खरेलले मन्त्रीपरिषद् विस्तार हुँदा नहुँदा सरकार जोखिममा परिसकेको बताए । उनले गठबन्धनको सरकारसँग जनताले ठुलो अपेक्षा नगरेको भन्दै सरकार गलत व्यवस्थाको अभ्यासमा लागेको आरोप लगाए । ७८ वर्षीय प्रधानमन्त्री शेर बहादुर देउवा जी १७ वटा मन्त्रालय हेर्दै हुनुहुन्छ । हामीले चाहेको राज्यको व्यवस्था यही हो ?, उनले भने ।

खरेलले सरकारको कामकाज देखेर सर्वोच्च अदालत समेत बिरक्तिएको भन्दै उनले परमादेशबाट तोकिएको प्रधानमन्त्रीले राज्य व्यवस्था चलाउन नसकेको आरोप लगाए । मुलुकमा देउवाको पक्षमा फैसला र माधव नेपालको आवश्यकतामा अध्यादेश ल्याउने काम भइहेको उनको भनाई छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले प्रतिपक्षी दललाई फुटाएर अप्रजातान्त्रिक र अलोकतान्त्रिक काम गरेको उनको धारणा छ । खरेलले एमाले सरकारमा हुँदा भन्ने गरिएको सेटिङ अहिलेको सरकारले व्यवहारिक रूपमा प्रयोग गर्दै गएको दाबी गरे ।