धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार भएको तोडफोडप्रति धरान उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

मेयर तिलक राईले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भौतिक क्षति हुने गरी भएको घटनाप्रति धरान उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

मेयर राईले ‘संवादबाट मात्रै समाधान सम्भव छ’ भन्ने अभिप्रायलाई स्मरण गर्दै क्रिया प्रतिक्रियाहरुले अझ समस्यालाई असमञ्जसता डोर्‍याउने हुँदा सम्पूर्ण सरोकारवाला पक्षहरूलाई संयमता अपनाउन अनुरोध गरेका छन् ।

वीपी प्रतिष्ठानमा भइरहेको बेथिति विसङ्गतिको विषयलाई लिएर केही समय अघि उपमहानगरपालिकाको नेतृत्वमा धरानका राजनीतिक दल, नागरिक दबाब समूह सहितको प्रतिनिधि मण्डल काठमाण्डौं गई सम्बन्धित मन्त्रालयमा दबाब समेत दिएको मेयर राईले प्रेस विज्ञप्तिमा मार्फत उल्लेख गरेका छन् ।

धरान उपमहानगरपालिकाको अगुवाइमा राजनीतिक दल र वीपी शुद्धीकरण सङ्घर्ष समितिसँग समस्या समाधानका लागि विभिन्न चरणमा छलफल समेत गरिरहेको मेयर राईले बताए ।

दक्षिण एसियाकै प्रतिष्ठित अस्पतालका रूपमा स्थापित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता, बेथिति र विसङ्गतिका विरुद्ध सम्पूर्ण धरानवासीहरू एकजुट भएका छन् ।

विगत ८५ औँ दिनदेखि प्रतिष्ठानको शुद्धीकरणका लागि चिकित्सकहरूद्वारा आन्दोलन समेत भइरहेको अवस्था छ । प्रतिष्ठानको शुद्धीकरणका लागि धरान उपमहानगरपालिकाको समेत गम्भीर ध्यानाकर्षण भएकै छ ।

धरान उपमहानगरपालिकाले विभिन्न समयमा धरानको प्रतिष्ठा बोकेको प्रतिष्ठानका लागि विभिन्न सकारात्मक कदमहरू चालिरहेको सर्वविदितै छ ।

धरान र धरानको छवि उजिल्याउन महत्त्वपूर्ण भूमिका रहेको प्रतिष्ठान धरानबासीहरुको मात्र नभई छिमेकी राष्ट्र भारतको विहार तथा प्रदेश १ र प्रदेश २ का जनताहरूको स्वास्थ्य समस्याको समाधानको आधार स्तम्भ समेत बनेको मेयर राईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मेयर राईले यस्तो महत्त्वपूर्ण संस्थाको रूपमा रहेको प्रतिष्ठानका सबै सेवाहरू सुचारु गर्न पनि आन्दोलनकारीहरूलाई आग्रह गरेका छन् । मेयर राईले प्रेस विज्ञप्ति मार्फत भनेका छन् ‘यहाँहरूको संयमित आन्दोलनका लागि धरान उपमहानगरपालिका सदैव साथ रहने समेत विश्वस्त दिलाउन चाहन्छौँ ।’

Bigyapti