धरान : सङ्खुवासभाको मादी-१ उमलिङ खोलागाउँमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न कसैलाई पनि अहिले सम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

सोमबार बिहान एकै घर परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो । हत्या भएको २ दिन पछि मात्रै मृतकको शव प्रहरीले उठाएर पोस्टमार्टमका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

सोमबार देखि घटनास्थलमा खटेको अपराध अनुसन्धानमा सफल मानिएका सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको विशेष प्रहरी टोली सहित घटना स्थलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयबाट प्रहरीको रिट टोली, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोली गरी करिब ३५ जना प्रहरी टोली खटिएका छन् ।

अनुसन्धानको क्रममा प्रहरीले मृतकको घरमा लुटपाट नभएको बताएको छ । घर भित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रुपैयाँ र केही सुनका गरगहना सुरक्षितरुपमा फेला परेकोले लुटपाटको कारण हत्या नभएको हुनसक्ने एसपी दाहालको भनाई छ । घटना स्थल विकट गाउँ भएकोले अनुसन्धान टोली पुग्न पनि समय लागेको र मौसमले पनि साथ दिएको छैन । सोमबार देखि पानी परिरहेकोले प्रहरीलाई अनुसन्धानमा समस्या भएको छ ।

प्रहरीको ठुलै अनुसन्धान टोली घटनास्थलमा परिचालन भएको भए पनि अहिले सम्म कसैलाई पनि पक्राउ गर्न भने प्रहरीले सकेको छैन । तर अपराधी नजिक प्रहरीको अनुसन्धान पुगेको प्रहरीको दाबी छ । अपराधीलाई पक्राउ नगरुन्जेल सम्म घटना स्थलमा अनुसन्धान जारी राख्ने एसपी दाहालले बताए । उनले भने –आज साँझ वा भोलि सम्ममा घटनाको केही न केही परिणाम आउने छ । केही मानिस पक्राउ गरिएको भनेर बताइए पनि घटना स्थलमा भएको प्रहरी टोलीले यसबारेमा केही भन्न चाहेन ।

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो ।

५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

Madi-Ghatana-1
तस्बिर : खेमराज देवान