विराटनगर : नेपाली महिलाहरूको ठुलो चाड हरितालिका तीजको अवसरमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुभकामना सन्देश दिएका छन् ।

आज एक सन्देश जारी गर्दै नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको सुखद अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा अटल सौभाग्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

‘हरितालिका तीजले समाजमा देखिएको विद्यमान महिला विरुद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य‚ समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु जारी सन्देशमा भनिएको छ ।

तीज पर्वले चेली-माइती‚ साथी-सङ्गी‚ परिवार एवं आफन्तजन बिचको सम्बन्धलाई प्रगाढ बनाएको बताउर्दै यस पर्वले समाजलाई समेत भावनात्मक एकताको सूत्रमा बाँध्न मद्दत गरेको सन्देशमा भनेका छन् ।

यहाँले हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न सबैलाई आग्रह पनि गरेका छन् । ‘यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै यस पर्वलाई एउटा चेली माइतीको भेटघाट, समाज जोड्ने पुलको रुपमा लिई मौलिकता जर्गेना गर्न हामी सबैले भूमिका निर्वाह गर्नु पर्छ सन्देशमा भनिएको छ ।

उनले कोभिड-१९ का कारण सङ्क्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालन गरेर चाड मनाउन पनि अनुरोध गरेका छन् ।

नेपाली समाजमा हरितालिका तीज सांस्कृतिक र धार्मिक पर्वका रूपमा महत्त्वपूर्ण मानिन्छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्त ऋषिको पूजा‚ उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहदैं आएको छ ।

विवाह पश्चात् महिलाहरू आफ्नो मातापिताको घर छोडेर कर्म घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा समेत तीज पर्वलाई लिने गरिन्छ ।

Sandesh