धरान : सुनसरी र सङ्खुवासभामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सुनसरी रामधुनी-६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडि सवार घाइते भएका छन् ।

मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका ६ का १८ वर्षीय रितिक राई रहेका छन् भने पछाडि सवार सोही स्थानका २१ वर्षीय नीरज राईको उपचार भइरहेको छ ।

गए राती १२ बजे उत्तर तर्फ जाँदै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा दुवै जना घाइते भई उपचारको लागी धरानमा पठाइएको थियो ।

उपचारको क्रममा रितिकको आज बिहान ३ बजे मृत्यु भएको छ । अर्का घाइते निर जलाई थप उपचारको लागी विराट नर्सिङ होम विराटनगर रेफर गरिएको छ ।

दुर्घटना भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय पलकीमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसै गरी सङ्खुवासभाको मकालु गाउँपालिका-३ समटार स्थित निर्माणाधीन खाँदवारि–किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको जेसिभी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सङ्खुवासभा खाँदवारि नगरपालिका-६ माथिल्लो पाङ्ठा का २४ वर्षीय श्याम बि.क. रहेका छन् । हिजो दिउसो २ बजे बि.क.ले चलाएको ज.१ क.४१२ नम्बरको जेसिबी काम गर्ने क्रममा पल्टेर १०० मिटर तल झरी दुर्घटना हुँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै इप्रका हेदाङनाबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी जिल्ला अस्पताल खाँदवारि पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।