धरान : आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाई दिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई धरानको तल्लो देउरालीबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा महोत्तरीको पशुपतिनगर–४ घर भई हाल धरान उपमहानगरपालिका वडा नं. ५ तल्लो देउराली दीपक लिम्बुको घरमा डेरा गरी बस्ने वर्ष ५२ को कुमार थापा मगर भन्ने अमर बहादुर लामिछानेले रहेका छन् ।

उनले आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाइदिने भनी प्रलोभन देखाई सर्वसाधारण मानिसहरूलाई ठगी प्रलोभनमा पारी नगद रकम लिई लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सो बापत मोटो रकम माग समेत गर्ने गरेको प्रहरीले जनाएको छ । 

लेनदेन प्रकृतिको कागज बनाई झुक्क्याई ठगी गरेको भन्ने किटानी जाहेरीको आधारमा भदौ २३ गते कुमार थापा मगर भन्ने अमर बहादुर लामिछाने बस्दै आएको डेरा कोठा खानतलासी गर्दा उनको डेरा कोठाबाट सर्वोच्च अदालत काठमाडौँ लेखिएको डिजिटल छाप थान १, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौँ लेखेको रबरको छाप थान १ (एक), गोप्य लेखेको रबरको छाप थान १ (एक), जिबछ लामिछाने समेत लेखेको रबरको छाप थान १ (एक), नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौँ लेखेको रबरको छाप थान १ (एक), प्रहरी निरीक्षक लेखेको रबरको छाप थान १ (एक), उपसचिव लेखेको रबरको छाप थान १ (एक) राष्ट्रिय वाणिज्य बैङ्क उल्टो उल्लेख भएको रबरको छाप थान १ (एक), लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल मस्टा छाप थान १ (एक), शाखा अधिकृत लेखेको छाप थान १ (एक) लगायत सो सम्बन्धित विभिन्न कागजातहरू फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

पक्राउ परेका अमर बहादुर लामिछानेलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ल प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।