झापा : सङ्खुवासभामा एकै परिवारका ६ जनाको सामूहिक हत्यापछि प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान गरिरहेको छ ।

धेरैको ध्यान अहिले सोही घटनातिर सोझिएको छ। एकै परिवारका ६ जनाको तीन पुस्ताकै वंशनास हुने गरी भएको यो नरसंहारबारे प्रहरी अनुसन्धान जारी छ। खासमा कसरी हुन्छ त कुकुरबाट अनुसन्धान ? के हो त डग स्न्यापिङ ?

जघन्य प्रकारका अनुसन्धान, दैवी प्रकोप उद्धार, लागूऔषध जस्ता अनुसन्धानलाई छिटो निष्कर्षमा पुर्‍याउन प्रहरीले कुकुरको सहायता लिने गरेको छ। उक्त पाटोलाई प्रहरीले डग स्न्यापिङ भन्ने गरेको छ ।

कुनै पनि अनुसन्धान कहाँबाट सुरु गर्ने भन्ने अन्योल भएमा डग स्न्यापिङ कै कारण अनुसन्धानको गाँठो फुस्किएका धेरै उदाहरणहरू प्रहरीसँग छ। अपराध अनुसन्धानमा कुकुरको प्रयोगले अनुसन्धानलाई प्रमाणमुखी बनाउनमा उल्लेख्य योगदान दिइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश १ मा रहेका अनुसन्धानमा पोख्त ६ वटा तालिमप्राप्त कुकुरहरूले धेरै अपराधीलाई कानुनी कठघरामा उभ्याउन सफल भएका छन् । १ नम्बर प्रदेश प्रहरी कनाइन शाखा धरानमा रहेका अनुसन्धानमा पोख्त कुकुरहरूमा लैला, पिकु, पारु; पिङ्कु, मेगी र मिकी रहेका छन् । यी ६ वटा कुकुर अपराध अनुसन्धानमा निपुण रहेका छन् ।

२०४७ सालदेखि धरानमा दुई वटा कुकुरबाट स्थापना भएको डग शाखामा अहिले नौ वटा कुकुरहरू छन् । विभिन्न विधाका तालिमप्राप्त ६ वटा कुकुर अहिले धरानको डग शाखामा छन् भने ३ वटा विराटनगर विमानस्थलमा तैनाथ छन् ।

लैला, पिङ्कु, पारु, पिङकी, मेगी, मिकी धरानमा र रक, ज्याक र स्विटी विराटनगर विमानस्थलमा रहेका छन् । प्रदेश १ मा कार्यरत आठ वटा कुकुर मध्ये पिङकी बाहेक सबै पोथी कुकुरहरू हुन् । प्रहरीले अपराध अनुसन्धानलाई तथ्य परक र प्रमाणमुखी बनाउन कुकुरको सहायता लिँदै आएको छ । कुकुरले धेरैलाई अपराध कर्म गर्नबाट हतोत्साहित समेत गरेको प्रहरीको भनाइ छ ।

sweety
स्विटी

वि.सं २०७७ साल पुस ३ गते झापाको मेचीनगर नगरपालिका-९ का परशुराम गौतमको हत्या भयो । हत्यामा संलग्न अपराधी भाग्न नसकुन् र अनुसन्धान प्रभावकारी होस् भन्ने उद्देश्यले प्रहरीले कुकुरको सहायता लियो ।

त्यस्तै २०७७ साल फागुन १ गते उदयपुरको त्रियुगा नगरपालिका-११ का वीरेन्द्र राईको हत्या, २०७७ साल असोज २९ गते इलामको माई नगरपालिका-१ का पुष्पलाल राईको हत्या, २०७७ साल भदौ १७ गते झापाको शिवसताक्षी नगरपालिका–११ का गोमनसिंह मगरको हत्या र २०७७ साल असोज ६ गते सुनसरीको वराहक्षेत्र नगरपालिका–१ की १२ बर्षीया मिना राईको हत्यामा संग्लग्नहरुलाई यिनै कुकुरहरूको सहायताले पक्राउ गरिएको थियो ।

यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन् । कुकुरको सहायताबाट अपराधी पक्राउ पर्ने क्रममा प्रहरीले सफलता प्राप्त गर्ने भएपछि आपराधिक मानसिकता भएका मानिसहरू निरुत्साहित भएको प्रहरीको विश्लेषण छ ।

अपराध अनुसन्धानमा पोख्त कुकुर : पिकु र लैला

जर्मन सेफर्ड जातका ट्याकर विधाका २ बर्षीया पिकु र ७ बर्षीया लैला । यी दुई वटा कुकुरहरूले अभियुक्तले छाडेको प्रमाण र सुराकको आधारमा भागेको स्थान ट्र्याक गरी अभियुक्त पहिचान गर्ने गर्छन् ।

पिकु विगत एक वर्षदेखि फिल्डमा खटिँदै आएको छ। लामो तालिम सम्पन्न गरेर फिल्डमा खटिएको पिकुले विभिन्न घटनामा प्रहरी अनुसन्धानलाई ठुलै मद्दत गरिसकेको छ भने लैला विगत ५ वर्षदेखि ट्रयाकर विधामा कार्यरत छ ।

प्रदेश प्रहरीको अपराध अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयहरूले लैलाको मद्दतबाट घटनाको सफल अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

केही महिना अघि झापा, इलाम, भोजपुर लगायत जिल्लामा भएका कर्तव्य ज्यानसम्बन्धी मुद्दामा लैला र पिकुको सहयोगले घटनाको सफल अनुसन्धान र अभियुक्त पहिचान भएको प्रहरीले जनाएको छ । प्रदेशमा अहिले ट्रयाकर विधामा यी दुई कुकुर छन् । पिकुभन्दा लैला ड्युटीको हिसाबले सिनियर कुकुर भएको जनाइएको छ ।

pku
पिकु
laila
लौला

पिङ्कु :

गोल्डेन रिट्रिभर जातको यो कुकुरले लागूऔषधको क्षेत्रमा काम गर्दै आएको छ ।

पिङ्कुले लुकाइछिपाइ राखेको गाँजा–चरेस सहित हेरोइन, कोरेक्स, लगायतका लागूऔषध बरामद गर्न सक्छ । सार्वजनिक बस, सीमा-नाका तथा विमानस्थलबाट लागूऔषध ओसारपसार भएको अवस्थामा पिङ्कुले सुँघेरै बरामद गराउने गरेको छ । विशेषतः चाडपर्व तथा निर्वाचनको समयमा पिङ्कुको सक्रियता बढाउने गरिएको छ ।

मिकी :

१३ महिना मात्रै भएको मिकी विपद् व्यवस्थापन, खोजी तथा उद्धारमा सक्रिय हुने गरेको छ ।

यो जर्मन सेफर्ड जातको कुकुर हो । मिकी सर्च एन्ड रेस्क्यू विधामा कार्यरत कुकुर हो । अहिले तालिमकै सिलसिलामा रहेको मिकीले बाढी–पहिरो तथा भूकम्पले भत्काएको संरचनामा फसेका व्यक्तिहरूको सर्च एन्ड रेस्क्यू गर्ने गरेको प्रहरीले जनाएको छ ।

पारु, म्यागी, रक र ज्याक :

१५ महिनाको पारु र ७ महिनाको म्यागी जर्मन सेफर्ड जातका कुकुर हुन् । उनीहरू विस्फोटक पदार्थ खोजीमा अब्बल रहेका छन् ।

त्यस्तै बेल्जियम सेफर्ड जातकै रक र गोल्डेन रिट्रिभर जातको ज्याकलाई पनि सोही बि धामा खटाउने गरिएको प्रहरीले जनाएको छ । यी चार वटा कुकुरहरूले विस्फोटक पदार्थसम्बन्धी विधामा आफ्नो कुशलता देखाउने गरेका छन् ।

विस्फोटक पदार्थ राखेको वा लुकाएको ठाउँ सजिलै पहिचान गर्न सक्ने र विशेषतः भिआइपी सुरक्षामा यी कुकुरहरू परिचालित हुने गरेका छन् ।

पारु र म्यागी धरान तथा रक, ज्याक विराटनगर विमानस्थलमा खटाइएका छन् । लागूऔषध विधामा पिङ्कुमात्र होइन विराटनगर विमानस्थलमा कार्यरत स्विटीलाई समेत खटाइने गरिएको प्रहरीले जनाएको छ ।

यी दुई वटा कुकुरले गाँजा–चरेस सहित हेरोइन, कोरेक्स, लगायतका लागूऔषध बरामद गर्ने कार्यमा खटाइँदै आइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

हत्या तथा बेपत्ता पारिएका दर्जनौँ घटनामा प्रहरीले कुकुरकै सहयोग लिने गरेको प्रहरीले जनाएको छ । नेपालमा अपराध अनुसन्धानमा कुकुर खटाउन लागिएको ५२ वर्ष पूरा भइसकेको छ ।

यो समयमा कुकुरले थुप्रै अपराधी पत्ता लगाउन सहयोग पुर्‍याएको छ भने सम्भावित घटनाका बारेमा सचेत पनि गराएको छ । अपराधीको पहिचान गर्न होस् या सम्भावित दुर्घटनाबाट बच्न प्रहरीका लागि कुकुर भरपर्दो अनुसन्धान ‘अस्त्र’ बनेको छ ।

मानिसभन्दा ५० गुणा बढी सुँघ्ने शक्ति भएका तालिमप्राप्त कुकुर घटना भएको २४ घण्टाभित्रै अनुसन्धानमा खटाउँदा ८६ प्रतिशत सम्म सफलता प्राप्त हुने कुकुर शाखाका प्रहरी नायब निरीक्षक दयानन्द श्रेष्ठको भनाइ छ ।

उनका अनुसार सुँघ्ने क्षमताकै कारण अपराध अनुसन्धानमा कुकुरको मद्दत लिने गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कुकुर शाखामा अहिले प्रहरी नायब निरीक्षकको कमान्डमा १२ जना प्रहरी कार्यरत छन् । उनीहरूलाई डग ह्यान्डलर भनिन्छ । यिनै डग ह्यान्डलरहरूले कुकुरहरूको तालिम तथा रेखदेखमा सहजीकरण गर्ने गर्छन् ।

डग ह्यान्डलरहरूका अनुसार यी कुकुरले घटनास्थलमा छाडिएको प्रमाणलाई सुँघेर अपराधी पत्ता लगाउँछन् । घटनास्थल सकेसम्म सुरक्षित राखेर कुकुरलाई काम गर्न दिने हो भने प्रहरीलाई अभियुक्तसम्म पुग्न खासै समय नलाग्ने अनुसन्धानमा खटिने प्रहरीहरू बताउँछन् ।

प्रदेश १ का १४ जिल्लाका जिल्ला प्रहरी कार्यालय मार्फत घटना अनुसन्धानका लागि आवश्यकता अनुसार कुकुर माग गरेपछि धरानस्थित १ नम्बर प्रदेश प्रहरी कनाइन शाखाले कुकुर टिम पठाउने गरेको जनाइएको छ ।

Kukur-1