धरान : प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउन्डेसनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री मुख्यमन्त्री भीम आचार्यलाई हस्तान्तरण गरेको छ ।

बुधवार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमका बिच मुख्यमन्त्री आचार्यलाई फाउन्डेसनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि एक करोड मुल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

अमेरिकी गैर सरकारी संस्था प्रोजेक्ट होपको सहयोगमा फाउन्डेसनले स्वास्थ्य सम्बन्धीका ११ प्रकारका विभिन्न सर समानहरू हस्तान्तरण गरेको फाउन्डेसनकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन् ।

उनका अनुसार गाउन २४०० थान, फेस शिल्ड २,३३२ थान, मास्क ८,४०० थान, एन ९५ डिस्पोजेबल मास्क १८०० थान, डिजिटल थर्मामिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १,८९० थान, पिपिई रेडियम २७६, पिपिई लार्ज २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५,३६० थान रहेको छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फडिण्द्र खत्रीलगायतको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री आचार्यले फाउन्डेसनको सामाजिक सेवा उल्लेखनीय भएको बताए । २००७ सालका क्रान्तिका योद्धा स्व.प्रतिमान चन्द्र बोहोराको स्मृतिमा उहाँका परिवारले फाउन्डेसन खोली स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएकोमा मुख्यमन्त्री आचार्यले परिवारलाई धन्यवाद दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका कार्यकारी निर्देशक स्वाती थापाले, आगामी दिनहरूमा प्रदेश सरकारसँग समन्वय गरी यस प्रदेशमा कोरोना महामारीसँग लड्न र बच्नका लागी आवश्यक पर्ने थप सामाग्री, प्रशिक्षण लगायतका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाले यस अघि ५ वटा प्रदेशमा यस्ता स्वास्थ्य सामाग्री वितरण गरी सकेको छ । केही दिनमा लुम्बिनी प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन् ।