धरान : धरानमा सवारी साधनको चाप बढेसँगै यसलाई व्यवस्थित गराउन असोज १ गते देखि 'वान वे' बनाइने भएको छ ।

धरानको मुख्य बजारमा ओहोरदोहोर सवारी साधन सञ्चालन हुँदा ट्राफिक जाम हुने भएकोले असोज १ गते देखि पहाडबाट आउने सवारी साधनहरूलाई धरानको लक्ष्मी चौक देखि पुरानो बजार, माछाभौडी, देशीलाईन हुँदै भानुचौकको रुट प्रयोग गर्नुपर्ने छ ।

यसैगरी पहाड जाने सवारी साधनलाई भानुचौक देखि छाताचौक, लक्ष्मीचौक हुँदै सवारी साधन सञ्चालन गर्नुपर्ने धरान उपमहानगरपालिकामा हालै बसेको बैठकले निर्णय गरेको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।

ठुला सवारी साधन सँगै सबै खाले सवारी साधनहरूलाई 'वान वे'को नियम लागुहुने पनि अधिकृत सापकोटाले बताए । यसका लागि ट्राफिक प्रहरीसँग समन्वय गरेर निर्णयलाई कार्यान्वयनमा ल्याइने छ ।

'वान वे'लाई व्यवस्थित गराउनकालागि बुधवार धरान उपमहानगरपालिकाले 'वान वे' सञ्चालन हुने स्थानमा अव्यवस्थितरुपमा रहेका तारहरू हटाउने सम्बन्धी सूचना समेत जारी गरेको छ ।

सडकको दाँया-बाँया अव्यस्थितरुपमा झुन्डिएका तारहरूले सवारी आवागमनमा समस्या ल्याउने देखिएको हुँदा उक्त तारहरू सम्बन्धित निकायहरूले तुरुन्त व्यवस्थित बनाउन सूचनामा भनेको छ ।

अव्यवस्थित तारकै कारण दुर्घटना हुन पुगे सम्बन्धित तारवाला आफै जिम्मेवार हुनुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

one-way