इटहरी : सुनसरीको रामधुनी नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । भदौ २९ गते मंगलबार बाल दिवसको अवसर पारेर बालमैत्री नगर घोषणा भएको हो। बालबालिकाको हितमा नगरपालिकाले प्रगति गरेको भन्दै बालमैत्री नगर घोषणा गरिएको मेयर जयप्रकाश चौधरीले बताए ।

रामधुनीका बालबालिकामा कुनै पनि समस्या हुन नदिएको बताउँदै उनले उल्लेख्य प्रगति भएको सुनाए। घोषणा सभालाई सम्बोधन गर्नेक्रममा चौधरीले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरूलाई नगरपालिकाले सहयोग गर्ने आश्वासन दिए।

बालमैत्री नगर घोषणा भएको रामधुनीमा बालबालिकाको अवस्था भने उराठलाग्दो छ। 'बा' वैदेशिक रोजगारीमा जाने र आमाले दोस्रो विवाह गर्ने प्रचलन बढेसँगै बालबालिका अभिभावक विहीन बन्दै गएका छन्। रामधुनीको ६ र ७ नम्बर वडाका अधिकांश बालबालिका अभिभावक विहीनताको अवस्थामा जीवन चलाइरहेका छन् ।

अभिभावकको अभावमा पढाई छाड्ने गरेका उनीहरू कुलतमा फस्दै गएका छन्। कक्षा ६ सम्म पढाइमा निकै तेजिला एक बालक पढाई छाडेर कुलतमा फसेका छन् । उनका बाबु वैदेशिक रोजगारीमा गएको दुई वर्ष भयो । उनले नियमित विद्यालय जान छाडेको पनि त्यति नै भयो । स्कुल आउने जाने ठेगान छैन । किताब कापी देखी परीक्षा सम्मको याद हुँदैन । बाटो बिराए भने मात्र स्कुल पुग्छन् उनी । शिक्षकलाई ठाडो जवाफ दिन्छन् । “सर मलाई टेन्सन छ की ! रक्सी नखाई सक्दिन हौ सर.....।” अहिले उनी पढाई छाडेर गाउँमा बेवारिसे भएर हिँड्न थालेका छन् ।

ramdhuni-bal

१४ वर्षीय अर्का बालकका बुबा ३ वर्ष अगाडी एचआइभी सङ्क्रमणको कारण बिते । बुबा विदेश गएको केही महिनामै आमाले दोस्रो विवाह गरिन् । अभिभावक विहीन भएका उनलाई फुपुले साहरा दिएकी छिन् । घरायसी काममा धेरै लाग्नुपर्ने भएपछि पढाइमा ध्यान दिन सक्दैनन् उनी ।

सुनसरीको रामधुनी नगरपालिका-७ मा पर्ने श्री पञ्चायत माविमा विद्यार्थीको चाप घटेको बताउँछन् प्रधानाध्यापक भीष्म महत । कोरोना महामारीको दोस्रो लहरपछि बन्द भएका विद्यालय पुनः सुचारु हुन सकेका छैनन् । विद्यालय खुले पनि बिद्याथी नआउलान् भन्ने पिरमा छन् महत ।

प्रधानाध्यापक महतका अनुसार यसै वर्ष एसइई पास गरेका एक विद्यार्थी दुई वर्षदेखि लागुऔषध प्रयोगकर्ता भएका थिए । बाबु विदेश गएपछि आमाले वास्ता गर्न छाडिन् । साथीभाइको लहैलहैमा लागुऔसधको नशामा लागे उनी । सीमावर्ती भारतीय बजार जोगिनीबाट लागुऔषध ल्याउँदा पैसा हुने भएपछि लोभिए उनी । पछि आफै प्रयोगकर्ता भएपछि अन्य साथीहरूलाई पनि त्यही काममा लगाएका छन् ।

साना बालबालिकाहरू वैदेशिक रोजगारीको पिडामा छन् । बुबा विदेशमा गएको बेला आमाको दोस्रो विवाहले धेरै बालबालिका अभिभावक विहीन भएका छन् । कतिपयले अभिभावकको अभावमा जन्म दर्ता समेत हुन सकेको छैन । पछिल्लो समय झनै समस्या बिकराल बन्दै गएको महत बताउँछन् ।

कोरोना महामारीले गर्दा विदेशमा भएका युवाहरू घर फर्कन नपाएपछि श्रीमतीहरूले दोस्रो विवाह गर्ने क्रममा वृद्धि भएको उनको भनाई छ । अझै यसबिचमा बालबालिका विद्यालय आउनु नपरेपछि दुर्व्यसनीमा फस्दै गएको उनले सुनाए । अभिभावक विहीन जस्तै भएका उनीहरू कुलतमा लाग्ने सम्भावना बढ्दै गएको उनको तर्क छ । विद्यार्थीलाई सम्झाउँदा कुनै उपलब्धि नहुने र अभिभावकलाई भन्दा सुनुवाइ नै नहुँदा यो अवस्था आएको दुखेसो गरे ।

बालबालिकाको सामाजिकीकरण आवश्यक

समाजशास्त्री तथा शिक्षाविद् चन्द्र उपाध्याय बालबालिकालाई सामाजिकीकरण आवश्यकता भएको बताउँछन् । त्यसको लागी स्थानीय सरकार र विद्यालयले नेतृत्व लिनुपर्ने उनको तर्क छ ।

वैदेशिक रोजगारीको पिडामा भएका बालबालिकाको उचित व्यवस्थापनको लागी स्थानीय सरकार जिम्मेवारी हुनसक्ने उनले सुझाए ।

खासमा वैदेशिक रोजगारी एक आकर्षण र देखा सेखीको उपज भएको उनको भनाई छ । स्थानीय स्तरमै व्यवसाय गरेर आर्थिक उपार्जन गर्ने बाटोमा युवालाई लगाउन सके यो समस्या समाधान हुने डा उपाध्यायको बुझाई छ ।

“छिमेकी र गाउँका ठुला मान्छेले प्रयोग गर्ने मदिरा तथा धूम्रपानले बालबालिकालाई आकर्षित गरेको हो । मदिराले बिस्तारै लागुऔषध सम्म पुर्‍याएको हो ।,” उनले भने, “बालबालिकाहरू जिज्ञासु स्वभावका भएको कारण उनीहरू ठुलो मान्छे जस्तै हुने कोसिस गर्छन् । यो एउटा कारण हुनसक्छ । त्यसंगै नैराश्यताको कारण उनीहरू लागुऔषध दुर्व्यसनीको सिकार भएका हुन् ।”