धरान : सङ्खुवासभाको मादी  सामूहिक हत्याको घटनालाई थप पुष्टि गर्न बलियो प्रमाण प्रहरीले फेला पारेको छ । 

सामूहिक हत्या भएको दिन भदौ २१ गते सोमबार बिहान देखि मृतक ३२ वर्षीय रञ्जना कार्कीको मोबाइल हराएको र फेला नपरेको प्रहरीले बताएको थियो । अनुसन्धानको क्रममा मोबाइल ट्रयाकिङ गर्दा घटनास्थल वरिपरि नै मोबाइल रहेको सङ्केत पाएको थियो ।

तर मोबाइल फेला परेको थिएन । मोबाइल हिजो बुधवार मुख्य आरोपी लोकबहादुर कार्कीको घरमा फेला परेको प्रहरीले बताएको छ । प्रहरीले खोज्दा पनि फेला नपरेको मोबाइल लोकबहादुरकै घरमा फेला पर्नुले मोबाइल लोकबहादुर कार्कीले लुकाएको हुन सक्ने र घटनाको प्रत्यक्षदर्शी भाइ १७ वर्षीय नरेश कार्की हुन सक्ने प्रहरीको दाबी छ । 

घटना बिहान उज्यालोमा घटेको र कसैले पनि नदेखेको बताइरहेको बेलामा मुख्य आरोपीको घरमा मोबाइल भेटिनुले घटनालाई थप पुष्टि गर्ने अर्को प्रमाण फेला परेको घटनाको अनुसन्धानमा सक्रिय एसपी भीमबहादुर दाहालले बताए । उनले भने थप अनुसन्धानको लागि (आइवीटनेस) नाङ्गो आँखाले प्रत्यक्ष घटना देख्ने व्यक्ति फेला परेको छ । अव थप अनुसन्धानले अरू केही नयाँ क्लु हरू भेटिन सकिने प्रहरीले दाबी गरेको छ । 

मुख्य आरोपी लोकबहादुरका भाइ नरेश कार्कीलाई आजै जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा लगिँदै गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरीमा घटनाको अनुसन्धानको लागि बयानका लागि लगिएको बताइएको छ ।

सङ्खुवासभाको मादी  नगरपालिका–१ स्थित तेजबहादुर कार्की सहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा गत भदौ २१ गते सोमबार बिहान शव फेला परेको थियो ।

५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो । 

थप एक जना पक्राउ गरिएको सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूमा समाचार आएको प्रति जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले भने एक विज्ञप्ति जारी गरी कसैलाई पक्राउ नगरिएको जनाएको छ ।