धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले धरानमा दशैं तिहार पछि मात्र विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

धरान उपमहानगरपालिकाले असोज ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको थियो । दशैको मुखमा भौतिक उपस्थितिमा विद्यालय खोल्दा बालबालिकामा कोरोना सङ्क्रमणको जोखिम रहेको भन्दै दशैं र तिहार पछि मात्रै विद्यालय सञ्चालन गर्ने निर्णय भएको धरान-१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले बताए ।

मन्त्रालयले नै स्कुल खोलिहाल्ने बेला नभएको विज्ञप्ति जारी गरेको बेलामा बालबालिकालाई खोप पनि नलगाइएको, सङ्क्रमण पुर्णरुपमा अन्त्य नभएकोलगायत अवस्था मध्यनजर गर्दै विद्यालय दशैं तिहार पछि मात्र खोल्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।

साथै, बैठकले निजी तथा संस्थागत विद्यालयहरूको शुल्कबारे पनि निर्णय गरेको र आजै उक्त निर्णय सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।

धरान नगर क्षेत्रमा सञ्चालन भएका विभिन्न विद्यालयहरूले स्तरउन्नति अनुमति पाउ भनी पेस गरेको निवेदनका सम्बन्धमा सम्बन्धित महाशाखाबाट स्थलगत अनुगमन र पेस गरेका कागजातहरू समेतका अध्ययन गरी पेस गरेको प्रतिवेदन समेतका आधारमा विद्यालयहरूलाई स्तरबृद्धिको अनुमति दिने निर्णय पनि गरेको छ ।

यसै गरी धरान-१७ स्थित सप्तरङ्गी पार्कको सञ्चालन व्यवस्थापन सम्बन्धमा,स्थानीय पाठ्यक्रम स्वीकृत गरी लागू गर्ने सम्बन्धमा, सुझाव समितिको प्रतिवेदन सम्बन्धमा पनि छलफल भएको थियो ।