इनरुवा : सुनसरीको कोसी गाउँपालिकामा नेपाली काग्रेंस र जनता समाजवादी पार्टी सहित विभिन्न पार्टी परित्याग गरी पाँच सय बढी नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश परेका छन् ।

विगत लामो समय देखी राजनीतिमा रहेका हाल नेपाली काग्रेंसका स्थानीय नेता जितेन्द्र (जितु) खेरवार सहित नेकपा एमालेमा प्रवेश परेका हुन् ।

कोसी गाउँपालिकाको ८ वटै वडाका विभिन्न तहका विभिन्न पार्टी परित्याग गरी एकसाथ ५५१ जना नेता, कार्यकर्ता, युवा र महिलाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेका केन्द्रीय सदस्य र सुनसरी जिल्ला सह इन्चार्ज प्रदेश १ का निवर्तमान प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैत र युवा नेता अजय कुसियैतको पहलमा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई सुनसरीका नेकपा एमाले जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी एवं प्रदेश १ का निवर्तमान प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले टिका, माला तथा खदाँ लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा एमाले सुनसरीका सचिव परशुराम यादव, एमालेका नेताहरू रमेश श्रेष्ठ, तैयव हुसेन, निलम खनाल, कोसी युवा सङ्घका संयोजक धिरेन्द्र पाठक, इन्चार्ज चन्दन यादव, अर्जुन कुसियैत, दुली सदा , अशोक मण्डल, कोशीका कार्यपालिका सदस्य, राष्ट्रिय युवा सङ्घ नेपालका पुकार पोखरेल, अनिता उराँव, युवानेताहरु सरिता कार्की घिमिरे, पुनम साह, नेता जफर जमाली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पूर्व प्रदेश मन्त्री जगदीश प्रसाद कुसियैतले नवप्रवेशीहरूलाई एमालेले उचित स्थान दिने बताए । त्यसै गरी कुसियैतले आफू मन्त्री भएपछि कोसीको मुख्य राजमार्गदेखि सीमासम्मको बाटोमा कालो पत्रे योजना, हरिपुरमा कालोपत्रे, चिल्ड्रेन पार्क, दजर्नौ मन्दिर निर्माण, पर्यटकीय क्षेत्र विस्तार लगायतको काम गरेकाले नागरिकको एमाले प्रतिको क्रेज बढेको बताए ।

कुसियैतले जनताको भरोसाको पार्टी एमाले भएको समेत बताए । आफूहरूको पार्टी सङ्घीय सरकारबाट बाहिरिए पनि नेकपा (एमाले) प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताए । पार्टी प्रवेश कार्यक्रममा कुसियैतले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको जिकिर गरे ।

पूर्व मन्त्री कुसियैतले कुनै पनि दल आफ्नो विचार र तिनको कार्यान्वयनका कारण स्थापित वा विस्थापित हुने उल्लेख गर्दै विचारको सही र सफल कार्यान्वयनका कारण एमाले पूर्णरुपमा स्थापित बन्न सकेको दाबी गरे । उनले कोसी क्षेत्रमा नेपाली काग्रेंसले सात दशक देखी जनताको भोट लिए पनि काम केही नगरेको दाबी गर्दै एमालेले मात्रै केही गरेको उदाहरण चार वर्षमा नागरिकले हेरेको र अनुभूति समेत गरेको बताए ।

कुसियैतले विकास र समृद्धिको नारा दिएको सरकार सफल भएको समेत दाबी गरे । कार्यक्रममा नेता तैयव हुसेनले नेकपा एमाले फुटेको नभई केही कसिङगरहरु भागेको बताएका छन् । नेकपा एमाले जनताको बहुदलीय जनवाद (जबज) लाई अघि बढाउने बाटोमा रहेकाले सफलता मिल्ने बताएको छ ।