धरान : उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी तथा संस्थागत विद्यालयहरूको वार्षिक र मासिक शुल्क निर्धारण गरेको छ ।

धरान उपमहानगरपालिकाका अनुसार गत वर्ष लिएको वार्षिक शुल्कमा न्यूनतम ५० प्रतिशत देखि शतप्रतिशतसम्म लिन पाउने निर्णय गरेको छ ।

जसअनुसार गत वर्षको शुल्कमा न्यूनतम ५ हजार देखि अधिकतम १४ हजार सम्म अभिभावकले शुल्क तिर्नुपर्ने हुन्छ । गत वर्ष भने न्यूनतम ३ हजार देखि अधिकतम ७ हजारसम्म मात्र वार्षिक शुल्क तोकिएको थियो ।

गत वर्षको वार्षिक शुल्क ५ हजारसम्म कायम भएका विद्यालयहरूले गत वर्ष कायम भएको शुल्क बराबर अर्थात् शतप्रतिशत शुल्क लिन पाउने भएका छन् ।

तर, ५ हजारदेखि १० हजारसम्म वार्षिक शुल्क भएका विद्यालयहरूले ८० प्रतिशतसम्म मात्र शुल्क लिन पाउनेछन् । तर, प्रतिशतबाट गणना गर्दा ५ हजारभन्दा घटी भएमा न्यूनतम ५ हजार शुल्क लिन पाउनेछन् ।

यसै गरी, १० हजारभन्दा माथि २० हजारसम्म वार्षिक शुल्क लिएको विद्यालयहरूले ६० प्रतिशत शुल्क लिन पाउनेछन् भने २० हजारदेखि माथि जतिसुकै भए पनि ५० प्रतिशत वार्षिक शुल्क लिन पाउनेछन् ।

यो स्तरका विद्यालयले अधिकतम १४ हजारमा नबढ्ने गरी मात्र शुल्क लिनुपर्ने हुन्छ । यो निर्णयअनुसार न्यूनतम ५ हजारदेखि अधिकतम १४ हजार वार्षिक शुल्क कायम भएको छ ।

यस्तै, अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयहरूले अनलाइन कक्षामा सहभागी भएका विद्यार्थीहरूबाट मात्र मासिक शुल्क ७० प्रतिशत लिन पाउने पनि निर्णय गरेको छ । गत वर्ष भने ५० प्रतिशत मात्र लिन पाउने निर्णय भएको थियो ।

कार्यपालिका बैठकले शुल्क निर्धारण गरे पनि विद्यालय सञ्चालक, संस्थापक तथा अभिभावकहरूको बिचमा आपसी सहमति तथा समझदारी भएमा सोही अनुसार मासिक तथा वार्षिक शुल्क कायम हुने निर्णय भएको छ । उनीहरूबिचमा सहमति तथा समझदारी नभएको खण्डमा मात्र कार्यपालिका निर्णय अनुसार हुने उपमहानगरपालिकाले जनाएको छ ।

Sulka-Nirnaya