धरान : प्रदेश १ मा हिजो बिहीबार एकै दिन विभिन्न घटनामा ७ जनाको मृत्यु भएको छ ।

हिजो दिउसो पौने ११ बजे मोरङको बुढीगंगा गाउँपालिका-३ कोसी राजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साइडमा रहेको बिजुलीको पोलमा ठोकिदा कार चालक मोरङ बेलबारी-१ का ३८ वर्षीय बाबुराम कार्की, कारमा सवार ४३ बर्षीय गीता लिम्बु, ३० बर्षीय चन्द्रकला राई र ५५ बर्षीया कानी धिमाल घाइते भएका छन् ।

घाइते मध्ये चन्द्रकला राईको विराट मेडिकल कलेज गङ्गा चौकमा उपचारको क्रममा मृत्यु भएको छ भने अन्य घाइतेको सोही अस्पतालमानै उपचार भइरहेको छ ।

यसै गरी हिजो बेलुका साढे ८ बजे झापा मेचीनगर नगरपालिका-१२ काली झोडा स्थित पूर्व–पश्चिम राजमार्गमा को २० प ४ नम्बरको मोटरसाइकले सोही दिशा तर्फ जाँदै गरेको मे.१ त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मेचीनगर १३ का ३० वर्षीय युवराज लिम्बुको उपचारको लागी विएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो ।

मोटरसाइकल चालक झापा कनकाई नगरपालिका-६ दुर्गापुर का ४३ वर्षीय दिल कुमार कार्की सोही अस्पतालमानै उपचार भइरहेको छ । ट्याक्टर, ट्याक्टर चालक झापा मेचीनगर-२ का २६ वर्षीय सुवास नेम्वाङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यसै गरी हिजो राती साढे १० बजे झापाकै बुद्धशान्ती गाउँपालिका-३ सात नम्बर चौक स्थित मेची राजमार्गमा मे.१० प ६०७ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-००१ज ३५५५ नम्बरको पिक अप एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक मेचीनगर नगरपालिका-१३ का ३२ वर्षीय परशुराम लिम्बुको विएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो भने सोही स्कुटरमा पछाडि सवार मेचीनगर नगरपालिका-१३ की ३० बर्षीया मनीषा लिम्बु समेत घाइते भई सोही अस्पतालमानै उपचार भइरहेको छ । पिकअप र चालक इलाम सूर्योदय नगरपालिका १० का २७ वर्षीय विवेक प्रधान प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यस्तै हिजो राती १२ बजे मोरङ विराटनगर महानगरपालिका १२ कोसी प्रोजेक्ट स्थित भित्री सडक खण्डमा को २१ प ५६१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक विराटनगर महानगरपालिका १ का ४२ वर्षीय रञ्जित कुमार शर्माको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरी कार्यालयहरूले थप अनुसन्धान गरिरहेको छ।
यसै गरी भोजपुर आमचौक गाउँपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ ।

हिजो दिउसो १२ बजे आमचौक-१ र २ को सिमानामा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको स्थानीयबाट खबर प्राप्त हुन साथ प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालय घोडेटाबाट प्रहरी टोली खटी गई खोजतलास गर्दा बेलुका सभा ४ बजे मृत अवस्थामा परियारको शव फेला परेको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय भोजपुरबाट समेत प्रहरी टोली खटी गएको छ।

यस्तै गरी ओखलढुङ्गा सुनकोसी गाउँपालिका-१० सोलुङपाखा का ५८ वर्षीय लोकनाथ गिरीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे गिरी आफ्नै घरको भुईतलाको कोठा भित्र टर्चलाईट चार्ज गर्ने क्रममा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको थियो ।