धरान : इटहरी उपमहानगरपालिकाले सिलाई कटाई सिप सिकेका महिलाहरूलाई सिलाई मेशिन प्रदान गरेको छ ।

उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले एक कार्यक्रमका बिच सिलाई मेशिन हस्तान्तरण गरेकी छिन् । इटहरी उपमहानगर वडा नम्बर ५ को तर्फबाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको तर्फबाट ७ वटा गरी २० वटा सिलाई मेशिन वितरण गरिएको हो ।

सम्वृद्धि हेल्भेटास परियोजना अन्तर्गत ६५ दिन सम्म सञ्चालित टेलरिङ्ग तालिमको समापनका अवसरमा मेसिन हस्तान्तरण गरिएको हो । तालिम सम्वृद्धि हेल्भेटास परियोजनाको प्राविधिक सहयोगमा मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्रालिले इटहरी–५ मा सञ्चालन गरेको हो ।

महिलालाई सिप सिकाएर मेशिन समेत प्रदान गरेर गरिखाने बनाउने लक्ष्य राखिएको उपमेयर लक्ष्मी गौतमले बताइन् । उनले सिकेको सिप प्रयोग गरेर ६ महिना भित्रमा रोजगार बन्न आग्रह गरे । वडा नम्बर–५ का वडाध्यक्ष कल्याण बहादुर कार्कीले सिप सिकेका महिलाले सिलाएका लुगाको बजारीकरणमा सहयोग गर्ने बताइन् ।

सम्वृद्धि हेल्भेटास परियोजनाका टिम लिडर वाल मुकुन्द न्यौपानेले हातमा सिप भएको मान्छे कहिल्यै भोको वस्नुनपर्नेमा जोड दिए ।

कार्यक्रममा आयोजक मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्राविका विकास खनाल,वडा सदस्य टीका बस्नेत र प्रशिक्षार्थी सुभद्रा ढुङ्गेलले आ आफ्नो धारणा राखेका थिए । निर्मला मैनाली र सुमित्रा विश्वकर्माले तालिम दिएका थिए ।