इटहरी : शनिवार बिहानै बुल्स एलेभेन क्लबले इटहरी चोक सरसफाइ गरेको छ । २०७३ साल देखी साप्ताहिक सरसफाइ गर्दै आएको क्लबले कोभिड पछि अघिल्लो साताबाट सक्रियता देखाएको हो ।

यसअघि इटहरी र तरहरा चोक आसपास सरसफाइ सहित डस्टबिन राखेको क्लबले पुनः सक्रियता देखाउन थालेको छ । कोरोना महामारीमा युवाहरू सङ्क्रमित हुने सम्भावना रहेकोले खोप लगाएर पुनः फिल्डमा निक्लिएको अभियन्ता पूर्ण राईले जानकारी दिए ।

होटेल व्यवसायी समेत रहेका राईको नेतृत्वमा युवाहरूले सरसफाइको क्षेत्रमा सक्रियता देखाउँदै आएको छ । आगामी सातादेखि सरकारी विद्यालय, रङ्गशाला तथा वृद्धाश्रममा सफाइ गरिने उनले बताए ।

बजार तथा गाउँ सफाइ अभियानमा लागेको क्लबलाई इटहरी उपमहानगरपालिकाले भने कुनै वास्ता गरेको छैन । वातावरण शाखा मार्फत केही औपचारिक कार्यक्रम भए पनि सरसफाइको क्षेत्रमा उपमहानगरले कुनै प्रगति गर्न सकेको छैन।

उता राईले भने स्थानीय तहलाई जागरूक बनाउन र युवाहरूलाई वातावरणीय चेतना अभिवृद्धि गर्न आफू लागी परेको बताए । अभियानमा राजनीतिकरण हुनसक्ने चिन्ता व्यक्त गर्दै उनले पार्टीबाट अभियानलाई अलग गरिएको जानकारी दिए ।

bulls-11-itahari-2