धरान : धरान बजारको पश्चिम भई बग्ने सर्दुको पीडाले सधैँ सताएका सर्वसाधारणले अब भने राहतको महसुस गर्ने भएका छन् ।

धरानको महत्त्वाकाङ्क्षी योजना अन्तर्गत सर्दु करिडोर निर्माण हुने भएपछि खोला किनारामा बस्नेहरूका लागि बर्षौदेखिको तनाव हल हुने भएको छ भने सर्दु करिडोर निर्माणले धरान पर्यटकीय गन्तव्य स्थलको विकास हुने धरानेहरुले विश्वास गरेका छन् ।

प्रदेश नं. १ कै महत्त्वाकाङ्क्षी योजना अन्तर्गत सर्दु करिडोर निर्माणका लागि प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले केही दिन अघि शिलान्यास गरेपछि सर्दुको पिडा दूर हुने भनेपछि सर्दु किनारामा बसोबास गर्नेहरूको विश्वास बढेको हो ।

धरान-१७ स्थित धरान-चतरा सडक खण्ड नजिकै सर्दु खोलामा आयोजना भएको कार्यक्रममा प्रदेश सरकार अन्तर्गतको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीले निर्माण गर्न लागेको करिडोरको शिलान्यास पछि बोल्दै मुख्यमन्त्री आचार्यले यो करिडोर सर्दु खोला नियन्त्रण गर्ने मात्र हैन आकर्षक कोरिडोरसँगै पर्यटकीय गन्तव्य स्थलको विकास गर्ने उद्देश्यले निर्माण गर्न लागिएको बताएका थिए ।

उनले करिडोरक्षेत्रमा पर्ने घरपरिवारलाई व्यवस्थित गर्दै स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षित ठाउँमा जमिन उपलब्ध गराउने र नयाँ घर निर्माण गर्न प्रदेश सरकारले प्रतिघर ५ लाख रुपैयाँ सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका प्रमुख चूडाराज ढकालले करिडोर निर्माणको लागि कुल १९ किलोमिटर लामो डिपिआर बनेको बताए ।

त्यसमध्ये धरान चतरा सडक खण्डबाट उत्तरतर्फको ८ किलोमिटर पर्ने उनले बताए । उनका अनुसार पहिलो चरणमा ५ किलोमिटर करिडोर बनाउन शिलान्यास भएको हो । सर्दु करिडोर निर्माण पश्चात् धरान सुन्दर पर्यटकीय स्थल बन्ने ढकालले दाबी गरे ।

निर्माण हुन लागेको सर्दु करिडोर वडा नं १७, ११, १६ र १३ वडासम्म निर्माण हुने छ । धरानका राजनीतिक तथा जनप्रतिनिधिहरुले समेत करिडोर निर्माण पश्चात् धरानको सर्दु वितण्डा समाप्त हुने मात्र हैन पर्यटकीय स्थलको रूपमा कोशेढुंगा साबित हुने बताउँदै आएका छन् ।

धरान-१७ का वडाध्यक्ष मनोज भट्टराईले खोलाका कारण बर्षौदेखिको समस्या हट्ने बताउँछन् । उनले अब भने वरिपरि बसोबास गर्ने सर्वसाधारणको तनाव भन्दा पनि आम्दानीको स्रोत बन्न सक्ने उनको भनाई छ ।

नेपाली काँग्रेसका नगर समितिका सचिव श्याम पोख्रेलले धेरै अगाडि आउनुपर्ने योजना ढिलै भए पनि धरानेहरुका लागि शुभसंकेत लिएर आएको बताउँछन् ।

२५ करोडको लागतमा सुरु भएको सो करिडोरको ठेक्का सम्झौता समेत भइसकेको छ। सुरुमा ५ किलोमिटरको दूरीमा काम सुरु हुने भए पनि पछि पुन: थपिँदै लाने जनाइएको छ ।

वर्षाको समयमा बषौंदेखि तनावमा बसेका सर्वसाधारणका लागि करिडोर निर्माण भएपछि तनाव सधैका लागि सकिने त छदै छ पर्यटकीय स्थल बनेपछि दह्रो आम्दानीको स्रोत पनि बन्न सक्ने बताइएको छ ।