वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ चतरामा प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। चतरा फुटबल क्लबको आयोजनामा प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता हुने भएको हो।

असोज १० गते देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल चतरा आयोजक चतरा फुटबल क्लब र ग्रिन कल्चर फुटबल क्लब चक्रघट्टिका बिच हुने आयोजकले जानकारी दिएको छ।

आयोजक क्लबका सचिव दिनेश राईका अनुसार प्रतियोगितामा मोरङ, उदयपुर र सुनसरी जिल्लाका ८ वटा टिमले सहभागिता जनाउने छन् ।

आयोजक चतरा, ग्रिन कल्चर, पञ्चकन्या फुटबल क्लब बेलका, जेएसवाईसी मोरङ, हाटखोला फुटबल क्लब, राजावास फुटबल क्लब, इटहरी फुटबल क्लब, एभरेस्ट फुटबल क्लबले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार ४५ हजार, दोस्रो २० हजार रहेको छ। कोसी पुलमा आयोजक चतरा फुटबल क्लबका अध्यक्ष राज कुमार राईको अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतियोगिता बारे जानकारी दिइएको थियो ।

कोरोना कहरले आक्रान्त बनाएको मानिसहरूलाई मनोरञ्जन प्रदान र अति आवश्यक खेल मैदान निर्माणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक चतरा फुटबल क्लबका सचिव राईले बताए । प्रतियोगिताबाट बचेको रकमबाट चतरा स्थित '५ आरडि'मा खेलमैदान निर्माण हुनेछ ।

साङ्गीतिक कार्यक्रम र महिला फुटबलको मैत्रीपूर्ण खेल समेत हुने प्रतियोगिताको कुल खर्च करिब २ लाख आङ्कलन गरिएको छ। नाईन साइजमा हुने प्रतियोगितामा उत्कृष्ट गोलकिपर, खेलाडी, हाईस्कोरर, डिफेन्डर लगायत विद्याका पुरस्कार प्रदान गरिने अध्यक्ष राजकुमार राईले जानकारी दिए ।

चतराका युवामा बढेको लागूऔषध दुर्व्यसनलाई घटाउने र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरी चतराको युवामा पुरानो फुटबल खेल भावनालाई बढाई र स्थानीय स्तरमा आधुनिक खेल मैदान निर्माण गरिने सल्लाहकार रोशन श्रेष्ठले जानकारी दिए ।

असोज १७ गते सम्म सञ्चालन हुने हुने प्रतियोगितामा स्थानीय वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले सहयोग गरेको सचिव दिनेश राईले बताए ।