झापा : सरकारले किसानका धेरै कामहरू गर्छु भनेर पनि गर्न सकेको छैन । तर गत आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश कार्यक्रम भने लागू भएको छ। किसानका आर्थिक समस्यालाई मध्यनजर गर्दै किसान क्रेडिट कार्डको अवधारणा आएसँगै अहिले किसानहरू यसप्रति आकर्षित हुन थालेका छन् ।

झापा दमक-१० कि शान्त कुमारी थाम्सुहाङ लिम्बू बिहीबार किसान क्रेडिट कार्ड पाएपछि दङ्ग थिइन । कृषि उद्यमका लागि सहयोगी हुने यो किसान क्रेडिट कार्ड पाएर दङ्ग हुनेमा उनी मात्रै हैन सोही ठाउका जिते बा धिमाल, सोम बहादुर धिमाल, राजकुमार धिमाल र उदयभक्त केरुङ पनि कार्ड पाएपछि हर्षित मुद्रामा देखिन्थे । हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रा.ली दमकले मेगा बैङ्क सँगको सहकार्यमा यी किसानहरूलाई किसान क्रेडिट कार्ड वितरण गरेको हो।

बिहीबार एक कार्यक्रमको आयोजना गरी किसान क्रेडिट कार्ड वितरण सँगसँगै किसानहरूलाई किसान वित्तीय साक्षरताका विषयमा छलफल समेत गराएको थियो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख ओलीले किसान सम्मानित पेसा भएकाले किसानका हक र हितका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टरले सुरुवात गरेको यो कामको प्रशंसा समेत गरे। नगरप्रमुख ओलीले अहिले पनि किसानका नाममा अरूले नै सेवा लिइरहेको प्रति चिन्ता जनाउँदै उनले आगामी दिनमा यस्ता क्रियाकलापको अन्त्य गर्न आफूहरू लागि पर्ने धारणा राखे।

यस्तै कृषकहरूलाई डिजिटल कृषि प्रणाली मार्फत सहज तथा सहुलियत रूपमा कर्जा उपलब्ध गराउने उद्देश्यका साथ मेगा बैङ्कको सहयोगमा किसान क्रेडिट कार्ड वितरण गरिएको एग्रोका अध्यक्ष ध्रुव प्रसाद न्यौपानेले जानकारी दिए । उनले बिहीबार शुभारम्भ भएको किसान क्रेडिट कार्ड वितरण अभियानले किसानलाई थप हौसला मिल्नेमा आफू आशावादी रहेको बताए।

हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्रकाश घिमिरेले किसानका लागि आफूहरू सदैव सहयोग गर्न तत्पर रहेको बताए । सहुलियत कर्जा मात्र हैन आगामी दिनमा किसानलाई आवश्यक पर्ने अन्य कामका लागि सहयोगी बन्न आफू र आफ्नो संस्था सदैव तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा मेगा बैङ्कका माइक्रो हेड पुण्यप्रसाद खनिया, बैङ्कका प्रदेश १ का प्रमुख विवेक बन्धु न्यौपाने लगायत अन्य प्रतिनिधिहरू, त्यसैगरि दमक नगरपालिकाका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराई, अर्जुनधारा नगरपालिकाका पशु विकास अधिकृत पदम राई लगायतले मन्तव्य राखेका थिए।

एग्रोका अध्यक्ष ध्रुव प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन हिमशिखर टेलिभिजनका समाचार शाखा प्रमुख सुदिप अधिकारीले गरेका थिए।

Mega-credit-card