इटहरी : भदौ ३० गते बुधवार कार्यकक्षमा पुगेका महिलालाई अपशब्द गाली गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी बिरुद्ध एक साता देखी आन्दोलन जारी छ । मेयर चौधरीले गल्ली स्वीकार गरेर माफी नमागे सम्म आन्दोलन जारी राख्ने भन्दै अधिकारकर्मीहरूले उपमहानगर कार्यालय घेराउ गरेका हुन् ।

इटहरीका विभिन्न महिलावादी संस्थाहरूले चौधरी विरुद्ध सदैझैँ बिहीबार पनि आन्दोलन चर्काएका छन् । मेयर चौधरीले सार्वजनिक स्थानमा माफी नमागे सम्म आन्दोलन नरोकिने बताएका हुन् । तर मेयर चौधरीले भने आन्दोलनलाई पुरै बेवास्ता गर्दै आएका छन् । दिनभर नै उपमहानगरको गेटैमा धर्ना बसेका उनीहरूले शान्ति सुरक्षा कायम गर्न, महिला हिंसा बन्द गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

एक साता अघि सीता शेर्पा र शर्मिला भट्टराई सिफारिसमा तोक लगाउन मेयर चौधरीको कार्यकक्षमा पुग्दा ‘यो आइमाई........’ भन्दै गाली गरेका थिए । मेयर चौधरीले दम्भका साथ गाली गरेको भन्दै शेर्पाले आपत्ति जनाएकी छिन् । स्थानीय तहका प्रमुखले नै अभद्र शैली अपनाउँदा नगरको गरिमा माथि प्रश्न उठ्ने उनले बताइन् ।

बिहीबारको विरोध सभामा बोल्दै महिला अधिकारकर्मी योशा गुरागाईँले भोलि मेयर चौधरीको फोटो सहितको ब्यानर टाँगिने बताइन् । मेयरलाई पपुलर हुन मन लागेकाले चोकमा ब्यानर टाँगेर चर्चित बनाइने उनको भनाई छ । शुक्रवार दिउँसो इटहरीको मुख्य चौक, सङ्गीत चौक, बिपी चौक लगायत स्थानमा फोटो सहित ब्यानर राखिने योजना सुनाइन् ।

महिला विरुद्ध बारम्बार अपशब्द बोल्ने चौधरीले हरेक पटक माफी मागेर आलटाल गर्ने गरेका छन् । यस अघि इटहरी १७ को एक कार्यक्रममा ...डि जिन्दाबाद बन्दै नारा लगाए । पटक पटक एउटै शब्दले महिलामाथि अपमान गरेका उनी पछि माफी मागेर फुत्किए । बारम्बार गल्ती गर्दै माफी माग्दै गर्ने उनको बानीले उनको माफी शिरोमणिको रूपमा टिप्पणी हुन थालेको छ ।