धरान : मोरङ र इलाममा भएको घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङ बुढिगंगा गाउँपालिका १ शान्ति चौकमा कोसी लोक मार्गमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डागिहाट का ५१ वर्षीय देवेन्द्र पन्त रहेका छन् । हिजो बेलुका सवा ६ बजे विराटनगर आउँदै गरेको को १ ख ७५४८ नम्बरको बसले सोही दिशा जाँदै गरेको साइकललाई पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका साइकल चालक पन्तको कोसी अस्पताल विराटनगरमा बेलुका साढे ६ बजे मृत्यु भएको हो । बस र चालक सुनसरी रामधुनी नगरपालिका ५ का ५३ वर्षीय शिव बहादुर पौडेल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।

यसै गरी इलामको माइजोगमाइ गाउँपालिका ५ सोयाङका गणेश गोलाइमा रोकी राखेको पिकअप गाडी सर्दा किचेर सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ५७ वर्षीय खिर बहादुर तामाङ रहेका छन् । हिजो बेलुका पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी  रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न  गएको अवस्थामा अचानक गाडी पछाडि सर्न गई किचेर घटनास्थलमानै मृत्यु भएको थियो ।

पिक अप र चालक इलाम सन्दकपुर गाउँपालिका २ माइपोखरी का ३० वर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।