धरान : झापाको छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिकाका २७ वर्षीय रोशन सुबेदी, २८ वर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ वर्षीय रतन सिंह रहेका छन् ।

हिजो बेलुका साढे ८ बजे झापाको अर्जुनधारा नगरपालिका-११ बसपार्कमा रहेको एक होटलबाट रोशन सुबेदी र सुमन कार्कीलाई ब्राउन सुगर ६ ग्राम ७०० मिली ग्राम सहित पक्राउ गरेको हो ।

त्यस्तै हिजो दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थित तुर्केनी खेल मैदान छेउबाट रतन सिंहलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।