धरान : धरानमा कोरोना महामारीका कारण बन्द रहेका विद्यालयहरू आइतबारदेखि खुलाउने निर्णय भएको छ । 

आज मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले स्वास्थ्य प्रोटोकलको पूर्ण रूपमा पालना गर्दै भौतिक रूपमा विद्यालयहरू खुलाउने निर्णय गरेको हो ।  गएको भदौ ३१ गते बसेको कार्यपालिकाको बैठकले धरान क्षेत्रका विद्यालयहरू भौतिक रूपमा दसैँ तिहारपछि मात्र सञ्चालन गर्ने निर्णय गरेको थियो । 

पछिल्लो समय धरानमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन घट्दै गएको तथ्यलाई मध्यनजर गर्दै आज बसेको कार्यपालिकाको बैठकले असोज १० गतेदेखि भौतिक उपस्थितिमै विद्यालय खुलाउने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडाले बताए । उनका अनुसार उपमहानगरपालिकामा वडाका वडाध्यक्षहरू र अभिभावकहरूले समेत विद्यालय खुलाउन अनुरोध गरेपछि उक्त निर्णय गरिएको हो । 

संस्थागत विद्यालयहरूबाट लिइने शुल्कलाई अभिभावकहरूले दबाबको रूपमा झेल्नुपर्ने बाध्यतालाई हिर्दय्ङ्गम गरी यस अघि झैँ अभिभावक र विद्यालयको सहमति र समन्वयमा शुल्क लिने व्यवस्था गर्ने निर्णय पनि गरेको छ । यस्तै, दसैँ तिहारको समयमा लामो अवधिसम्म विद्यालयहरू बन्द नगर्न समेत अनुरोध गर्ने निर्णय भएको छ भने सम्बन्धित वडाहरूबाट र धरान उपमहानगरपालिकाले अनुगमन गर्ने समेत निर्णय भएको छ ।