झापा : अनलाइन मार्फत ठगी गरेको आरोपमा प्रहरीले झापाको काँकडभिट्टाबाट एक जना पास्टरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिलगुढी घर भएका क्रिश्चियन धर्मगुरु सन्दीप क्षेत्री छन् । झापा प्रहरीसँगको समन्वयमा क्षेत्रीलाई पक्राउ गरेर काठमाडौँ लगिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।

फेसबुक र ह्वाट्स एपमार्फत विदेशीको हुलियामा च्याट गरेर क्षेत्रीले ५ लाख रुपैयाँ ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सङ्खुवासभा घर भएकी एक महिलालाई क्षेत्रीले ‘युकेबाट पार्सल पठाएको छु, रिसिभ गर्नु’ भनेर काठमाडौँमा जान आग्रह गरे ।

काठमाडौँ आएपछि भन्सार तिर्न पाँच लाख लाग्छ भनेर उनले पोखरा र काँकडभिट्टाका दुई जना महिलाको खातामा पैसा हाल्न लगाएका थिए ।

पार्सलमा ‘विदेशी पैसा पनि रहेछ’ भनेर थप पैसा मागेपछि ती महिला प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।