झापा : नजिकिँदै गरेको नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय झापाले सुरक्षा योजना बनाएको छ ।

प्रहरी कार्यालय झापाले चाडपर्व अवधिभर जिल्लाभर प्रहरी परिचालन देखी अभिमुखीकरण कार्यक्रम सम्म सञ्चालन गर्ने प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

नेपालीहरूको महान् चाड बडा दसैँ, तिहार र छठ पर्वको अवधिभर झापा जिल्लाको समग्र शान्ति सुरक्षा तथा सुव्यवस्थालाई प्रभावकारी बनाउनको निमित्त प्रहरी परिचालनलाई व्यवस्थित एवं परिणाममुखी बनाउन चाडपर्व लक्षित सुरक्षा योजना तयार गरिएको छ ।

कोभिड – १९ बाट सिर्जित विषम परिस्थिति समेतलाई मध्यनजर गर्दै चाडपर्व मनाउने कार्यलाई थप व्यवस्थित बनाउन धार्मिक तीर्थस्थल, शक्ति पीठ, मठ मन्दिर लगायतका स्थानमा भक्तजनहरूलाई सामाजिक दूरी कायम गरी सुरक्षा व्यवस्था मिलाइने र चाडपर्वको समयमा हुन सक्ने जुनसुकै किसिमका अराजक एवं उच्छृङ्खल गतिविधि नियन्त्रण, झैँ-झगडा, जुवा तास, चोरी, लुटपाट,भारतीय सीमा नाकाबाट हुन सक्ने तस्करी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, बैङ्क तथा वित्तीय संस्था लगायत आर्थिक कारोबार हुने स्थानहरूको सुरक्षा, कालोबजारी नियन्त्रण लगायतका क्षेत्रहरूमा हुने प्रहरी परिचालनलाई सुरक्षा योजनाले समेटेको छ ।

भिडभाडमा हुने स्थानमा चोरी, डकैती र लुटपाटका घटना हुन नदिन विशेष व्यवस्था मिलाइएको छ भने उद्योग, कलकारखाना, महत्त्वपूर्ण प्रतिष्ठान, लोक मार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिने सुनिश्चितता कायम गरी होटेल, लज एवं रेस्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था समेत मिलाइएको छ ।

बिशेषत : चाडपर्वको अवधिभर झापा जिल्ला भरी कुल १०४३ जना प्रहरी प्रत्यक्ष रूपमा फिल्डमा परिचालित गरिने छ ।

ट्राफिक प्रहरी समेतको समन्वयमा जिल्ला भर कुल ९६ स्थानमा चेकप्वाईन्ट स्थापना गरी नियमित एवं आकस्मिक चेकजाँचको व्यवस्था मिलाइएको छ । राजमार्गको सुरक्षा, ग्रामीण क्षेत्रको सुरक्षाको लागि विभिन्न प्रहरी युनिटहरूबाट पैदल गस्ती र २४ सै घण्टा मोबाइल गस्तीको व्यवस्था गरिएको छ भने जिल्ला स्थित मुख्य मुख्य ४ (चार) स्थानमा स्ट्राईकिङ फोर्स परिचालन समेतको व्यवस्था मिलाइएको छ ।

यस्तै भारतीय सीमा नाकाबाट हुन सक्ने तस्करी नियन्त्रणको निमित्त सीमा क्षेत्रका २५ स्थानमा कुल ३३० जना प्रहरी परिचालन गरिने छ । काँकडभिट्टा, बिर्तामोड, दमक र भद्रपुरमा अवस्थित ४ वटा स्थानका बस पार्कहरूमा यात्रुहरूको गन्तव्य सम्मको यात्रामा सहजीकरणको लागि यात्रु सहायता कक्ष समेत सञ्चालन गरिने छ साथै भाडामा ठगिने, लुटपाट हुने लगायतका गतिविधिलाई पूर्णतया निरुत्साहित गरिने छ ।

कोभिड – १९ को महामारीलाई मध्यनजर गर्दै धार्मिक एवं मनोरञ्जन स्थलहरूमा हुन सक्ने मानिसहरूको भिडभाड नियन्त्रणको लागि नियमित प्रहरी परिचालन गरिने छ भने चाडपर्वको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणको लागि स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमन समेतलाई तीव्रता दिइने छ ।

बैङ्क वित्तीय संस्था, सुनचाँदी लगायत आर्थिक कारोबार हुने स्थानहरूमा २४ सै घण्टा प्रहरी परिचालनलाई सुनिश्चितता गरिएको छ साथै त्यस्ता स्थानहरूमा कार्यरत निजी सुरक्षा गार्डहरूलाई सुरक्षा सम्बन्धी अभिमुखीकरण समेत सञ्चालन गरिने छ ।