झापा : झापाको दमकमा १ नम्बर प्रदेश पालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित बडा दसैँ २०७८ को अवसर पारेर प्रथम वडाध्यक्ष कप १ नम्बर प्रदेश पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो ।

आयोजक वडा खेलकुद समिति दमक ३ ले आज वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी यस बारे जानकारी गराएको हो ।

आगामी असोज १८ गते देखी २० गतेसम्म प्रतियोगिताको आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रदेश १ का १८ वटा टिमले भाग लिने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका खेल संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

सबै खेलहरू दमक नगरपालिका वडा नम्बर ३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गशालामा हुने दमक नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिए ।