धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुन लागेको नगर अधिवेशनमा धरानमा ७ पदका लागि १४ जनाको उम्मेदवारी परेको छ ।

सभापतिको उम्मेदवारमा किशोर राई र श्याम पोखरेलको उम्मेदवारी परेको छ। उपसभापति २ जना निर्वाचित हुनुपर्नेमा राई प्यानलबाट महेन्द्र तामाङ र राजकुमार थोप्रा पोखरेल प्यानलबाट नरेन्द्र कुमार राई (प्रवीण) र सन्तोष लिम्बु गरी ४ जनाको उम्मेदवारी परेको छ ।

सचिवमा २ जना निर्वाचित हुनुपर्नेमा राई प्यानलबाट रुकमणि गौतम (कोपिला) र सुमन श्रेष्ठ पोखरेल प्यानलबाट जितेन्द्र राई र हिमाल श्रेष्ठको उम्मेदवारी परेको छ ।

सहसचिवमा पनि २ जना निर्वाचित हुनुपर्नेमा राई प्यानलबाट कमला कार्की र गोपाल कार्की र पोखरेल प्यानलबाट युनेश राना र शिला बज्राचार्यको उम्मेदवारी परेको छ ।

भोलि बिहान ८ बजे देखि २ बजे सम्म हुने १४ औँ नगर अधिवेशनको निर्वाचनमा १४ जना मध्ये ७ जना निर्वाचित हुनेछन् । नेपाली काँग्रेस सुनसरी जिल्ला सचिव तथा प्रवक्ता सुजेन्द्र तामाङ गोलेका अनुसार शुक्रवार नै १ सय जना नगर सदस्यहरू निर्विरोध निर्वाचित भइसकेका छन् ।

सुनसरी उद्योग वाणिज्य सङ्घमा हुने निर्वाचनमा धरानका विभिन्न वडाबाट चुनिएका ४ सय ९५ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

यसै गरी नेपाली काँग्रेस धरान उपमहानगर समितिको आयोजनामा १४ औँ नगर अधिवेशनको शुक्रवार उद्घाटन भएको छ ।

उद्घाटन समारोहमा पब्लिक स्कुलका पूर्व प्रधानाध्यापक राजेन्द्र प्रसाद आचार्यलाई 'चन्द्र प्रसाद श्रेष्ठ शिक्षा पुरस्कार' प्रदान गरिएको छ। नेपाली काँग्रेस धरानका सभापति एवं मेयर तिलक राईले आफ्नो सेवा सुविधा बापतको रकम १ लाख ५० हजार रुपैयाँ 'चन्द्र प्रसाद श्रेष्ठ शिक्षा पुरस्कार कोष' स्थापना गरिदिएका हुन् ।

कोषका संस्थापक शिक्षण पेसामा रही अवकाश प्राप्त चन्द्र प्रसाद श्रेष्ठले कोषका लागि १ लाख ५० हजार रुपैयाँ राखेका थिए भने नेपाल शिक्षक सङ्घ धरानले ५० हजार रुपैयाँ कोषलाई प्रदान गरेको थियो । यस वर्ष पब्लिक स्कुलका पूर्व प्रधानाध्यापक आचार्यलाई नगद २० हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरिएको हो।

हरेक वर्ष शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई उक्त पुरस्कार प्रदान गरिने बताइएको छ । काँग्रेस धरानका सभापति एवं मेयर राईले चन्द्र सरको नाममा पुरस्कार कोष खडा गरेर राजेन्द्र सरलाई सम्मान गर्नु पाउँदा अत्यन्तै गर्व लागेको बताए। पुरस्कार कोषका संस्थापक श्रेष्ठले मेयर राईले पुरस्कार खडा गरिदिएको भन्दै प्रशंसा गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश एकका प्रदेशसभा सदस्य चन्द्र प्रसाद श्रेष्ठ (डिआइजी)ले भोलि (शनिवार) हुन गइरहेको अधिवेशनबाट सबल र सक्षम नेतृत्वलाई चुन्नुपर्ने बताए।

काँग्रेस धरानका सचिव समेत रहेका सभापतिका प्रत्याशी उम्मेदवार श्याम पोखरेलले १३ औँ महाधिवेशनमा ३३ सय भन्दा बढीले मत दिएर जिताएको बताउँदै पाँच वर्षे कार्यकालमा धरानमा आफ्नै पार्टी कार्यालय भवन निर्माण गर्न सकेको, धरान १३ स्थित विपी पार्कमा विपीको पूर्ण कदको शालिक निर्माण गरेको, उपनिर्वाचनमा मेयर पदमा ऐतिहासिक जित हासिल गर्न सकेको, वार्षिक नगरसभा, पार्टीको कार्यकर्तालाई विभिन्न प्रशिक्षण कार्यक्रम गरेको जानकारी दिए ।

साथै उनले १३ औँ महाधिवेशन अघिको नेतृत्वले पार्टी कार्यालय भवन निर्माण गर्ने भनेर सङ्कलन गरेको पैसा अहिलेसम्म फर्छ्यौट नगरेको आरोप समेत लगाए । भवन निर्माण गर्न १३ औँ महाधिवेशनबाट आएको नेतृत्व सफल भएको बताउँदै उनले यही नेतृत्व आएपछि धरानको काँग्रेसमा आकर्षण बढ्दै गएको बताए ।

काँग्रेस धरानका सभापति एवं मेयर तिलक राईले धरानको कांग्रेलाई मजबुत बनाउने काम आफ्नै कार्यकालमा भएको दाबी गरे । कार्यक्रममा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ सभापति सुरेशमान श्रेष्ठ, जिल्ला सदस्य माधव घिसिङ, नेपाल महिला सङ्घ सुनसरीका सचिव निर्मला शाक्य, तरुण दल धरानका सभापति हिमाल श्रेष्ठ लगायत बुथ सभापतिहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस धरान नगर सचिव युवराज शंकरले गरेका थिए । उनले कार्यकाल अवधिमा प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

Congress 1