इटहरी : नेकपा माओवादी केन्द्रको विद्यार्थी भातृ सङ्गठन अखिल (क्रान्तिकारी) सुनसरीको अध्यक्षमा अर्जुन पौडेल चयन भएका छन् । माओवादी केन्द्रको सुनसरी जिल्ला समन्वय समितिको बैठकको रिपोर्टिङ अनुसार पौडेललाई अध्यक्ष चयन गरिएको हो ।

असोज ७ गते जिल्ला समन्वय समितिको बैठकमा भएको छलफल अनुसार संयोजक योगेन्द्र प्रसाद मण्डल (पप्पु)ले ८ गते पौडेलको नेतृत्वमा ४९ सदस्यीय समिति चयन गरेका हुन् । विद्यार्थी फयाक्सन इन्चार्ज शैलेन्द्र राजधामीले जिल्ला सम्मेलनमा गुटबन्दी र अराजक गतिविधि भएको जानकारी गराएपछि पार्टीले नै हस्तक्षेप गरेर कमिटी चयन गरेको हो । अराजक गतिविधिको कारण पदाधिकारी चयन गर्न नसकिएको भन्दै पार्टीले सङ्गठनलाई एकताबद्ध गराउन विकल्प खोजेको बताइएको छ ।

अध्यक्ष मण्डलले पौडेलको अध्यक्षतामा तिन उपाध्यक्ष, एक सचिव, पाँच सहसचिव र एक कोषाध्यक्ष सहित चयन गरेका छन् । जसमा अध्यक्ष अर्जुन पौडेल, उपाध्यक्ष नवीन दाहाल, रोशन गिरी, सागर धमला, सचिव घनश्याम देव, सहसचिव प्रदीप घिमिरे, रविन श्रेष्ठ, आकृति सुब्बा, ऐसहान अन्सारी, याम कुमार पाण्डे र कोषाध्यक्ष अनिल राईको सहित ४९ सदस्यीय पदाधिकारी चयन भएको छ ।

अध्यक्ष चयन भएसँगै पौडेलले सुनसरीमा अखिल क्रान्तिकारीको सङ्गठन बजबुद बनाएर लैजाने बताए। लामो समय देखी जिल्ला र कलेज लेबलमा कमिटी चलायमान नभएको अवस्थामा आफ्नो नेतृत्वले सङ्गठनलाई पुनर्जीवन दिने उनको भनाई छ । स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीलाई विजयी गराउने गरी अभियान चलाइने प्रतिक्रिया दिए ।

akhil-123