इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्धवारीकलाल चौधरी विरुद्ध ८ दिन देखी आन्दोलन जारी छ ।

सेवाग्राही महिलालाई अपमान गरेको भन्दै महिलावादी संस्थाहरूले आन्दोलन चर्काएका हुन् । एक साता अघि सिफारिसमा तोक लगाउन पुगेका महिलालाई ‘यो आइमाई......’ भन्दै गाली गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

हिजो दिउँसो उपमहानगरपालिका कार्यालय अगाडी मेयरले माफी माग्नुपर्ने माग सहित अधिकारकर्मी महिलाहरूले नारा लगाए । अपमान नसहने बताएका उनीहरूले मेयर चौधरीलाइनै अपमान हुने शब्दले गाली गरेका हुन् ।

मेयर चोर देश छोड, द्धवारीका चोर देश छोड, भ्रष्टाचारी मेयर मुर्दावाद, थुतुनो सम्हालेर बोल, महिलालाई अपमान गर्न पाइँदैन जस्ता नारा लगाएर विरोध गरे । महिला अधिकारकर्मी भनेर चिनिएकी सावित्री सुवेदीले आन्दोलनको नेतृत्व गरेकी थिइन् ।

मेयरले माफी नमागेसम्म आन्दोलन जारी राख्ने बताएका उनीहरूले आज पनि नगरपालिका घेराउ गर्ने भएका छन् ।

महिलामाथि दुर्व्यवहार गर्ने मेयरलाई नछाड्ने भन्दै अधिकारकर्मी सुशीला उप्रेतीले अनवरत विरोध जनाउने बताइन् । यसअघि पनि मेयर चौधरीले अपमान गर्ने गरेको स्मरण गर्दै उनले माफी नमागेसम्म नछाड्ने बताएकी हुन् ।