धरान : मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा आयोजित च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिता आज देखि धरानमा सुरु भएको छ ।

धरान-११ न. वडा, नवकला चोकमा रहेको मितेरी फुटसलमा सम्पन्न च्यारिटेवल फुटसल प्रतियोगिताको पहिलो खेलमा च्याम्स टिम विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।  च्याम्स टिमले सिओन स्कुललाई ५-२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरण प्रतिक्वाटर फाइनलमा प्रवेश गरेको हो ।

खेलमा च्याम्स टिमका असीम राईले दुई र दिवस सुनुवार, रोचक दिवारीे र साजन राईले एक एक गोल गरेका थिए भने, सिओन स्कुलका तर्फ वाट सुदिप तामाङ र आषिस दर्नालले गोल गरेका थिए ।

३६ वटा टिम सहभागी रहेको प्रतियोगिताको पहिलो चरणमा १८ वटा म्याच हुने र १८ विजेता टिम दोस्रो चरण प्रतिक्वाटर फाइनलमा प्रवेश गर्ने आयोजक मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राईले जानकारी गराएको छ । भोलि देखि सोमवार प्रि-क्वाटर र क्वाटर फाइनल सबै खेल हुने राईले जनाए ।

१० गते देखि १२ गते सम्म तिन दिने प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले पचपन्न हजार ५ सय ५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

त्यस्तै गरी उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन ।

प्रतियोगिताबाट उठेको रकमले धरान १३ मा रहेको पेट्रोल पम्प देखि भेडेटार सम्मको ट्रनिङ्गहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त ट्रनिङ्ग तथा चौकहरू गरी ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाइने र धरानका पत्रकारहरूको पहलमा धरान-१७ बिजुवा मार्ग स्थित एकल महिला जानुका विकको घर निर्माण अभियानमा सहयोग गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम धरान उपमहानगरपालिकाका प्रमुख मेयर तिलक राई र फुटसलका संरक्षक ज्ञानबहादुर राईले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । मेयर राईले रेफ्रिलाई बल हस्तान्तरण गरी गोल पोस्टमा गोल प्रहार गरे पछि खेल सुचारु गरिएको थियो ।

मितेरी फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी कृष्ण श्रेष्ठ, इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर ज्ञानेन्द्र रायमाझी, कृति टेलिभिजनका कार्यक्रम निर्देशक मोहन श्रेष्ठ, बक्सिङ सङ्घ सुनसरीका अध्यक्ष विकासकुमार गुभाजु, सेपाकटेक्रो सङ्घ, सुनसरीका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बु लगायतको उपस्थिति रहेका थियो ।