इटहरी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पकड मानिएको सुनसरी जिल्लामा इतर पक्ष बलियो बन्दै गएको छ ।

सुनसरीका १२ मध्ये १० पालिकामा सम्पन्न अधिवेशनले संस्थापन मानिएको देउवा समूह कमजोर देखिएको हो । संस्थापन समूहका शक्तिशाली नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, विजय कुमार गच्छदार, मीन विश्वकर्मा र राजीव ढुङ्गानाको गृहजिल्लानै देउवाको पकड बाहिर जाने सम्भावना बढेको छ ।

कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा टिमलाई विजयी गराउन सफल भए पनि बाकी नेताहरूको उपस्थिति कमजोर देखिएको हो ।

केन्द्रीय सदस्य मीन विश्वकर्माको आधार क्षेत्र मानिएको धरान उपमहानगर समितिमा इतर पक्षको प्यानलै विजयी भएको छ । त्यस्तै नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सभापति राजीव ढुङ्गाना र केन्द्रीय उपसभापति गच्छदारको आधार क्षेत्रमा इतर पक्ष हाबी भएको छ ।

प्रदेश १ कै दुई उपमहानगर धरान र इटहरीमा देउवा पक्षको कमजोर उपस्थिति देखिएको छ । विश्वकर्माको गृह नगर धरानमा इतर पक्ष हाबी भएको छ ।

इतर पक्षको प्यानलै विजयी भएपछि संस्थापन देउवा पक्ष छायाँमा परेको हो । पूर्व नगर सभापति किशोर राईलाई पछि पार्दै नगर सचिव रहेका श्याम पोखरेलले विजय हासिल गरेका हुन् ।

इटहरी उपमहानगरको कार्यसमितिमा मिश्रित परिणाम देखिए पनि सभापतिमा इतर पक्षका हेमकर्ण पौडेलले बाजी मारेका छन् ।

निक्कै रोचक प्रतिस्पर्धा रहेको इटहरीमा नेबिसंघ पूर्व उपसभापति विकाश केसी र सभापति पौडेल बिचको प्रतिस्प्रर्धामा पौडेल पक्षका अधिकांश उम्मेदवार विजय भएका छन् । केसीलाई जिताउन उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीम बहादुर पौडेल, नेबिसंघका केन्द्रीय सभापति ढुङ्गाना, इटहरीमा मेयर पदका उम्मेदवार रोहित प्रसाईँ लगायत विभिन्न भातृसंस्थाले भूमिका खेलेका थिए ।

इटहरी जेसीजका अध्यक्ष प्रकाश राई आफै सहसचिवको उम्मेदवार भए । होटेल व्यवसायी सङ्घ देखी विभिन्न संस्थाहरूले केसीको समर्थनमा प्रचार गरे । तथापि दुई कार्यकाल सभापति भइसकेका पौडेलले विजय हासिल गरे ।

सुनसरीको सदरमुकाम इनरुवामा पनि इतर पक्षका राजन मेहेता विजयी भएका छन् । पूर्व सभापति तथा मेयर समेत रहेका मेहेताले दास्रो कार्यकालको लागी प्रतिस्पर्धा गरेका थिए । जिल्ला सभापति राजीव कोइरालाको समर्थनमा चुनावी मैदानमा होमिएका उनले फराकिलो मतान्तरले विजय हासिल गरे ।

इटहरी र इनरुवाको बिचमा रहेका रामधुनीमा पनि इतर पक्षका सुदीप अधिकारी विजयी भएका छन् । संस्थापन पक्षका सगेन चौधरीलाई पराजित गर्दै उनले दास्रो कार्यकाल सुरक्षित गरेका हुन् ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री कार्कीको क्षेत्रमा भने संस्थापन पक्षले जित हासिल गरेको छ । केही दिन अगाडी कार्की आफैले क्षेत्रीय प्रतिनिधिलाई भेट्ने र सम्मान गर्ने कार्यक्रम राखेपछि त्यसको प्रभाव निर्वाचनमा देखिएको हो ।

भोजपुर बाट सुनसरी ४ मा निर्वाचन क्षेत्र सारेका उनले पार्टी भित्र आफ्नो प्रभाव बढाउँदै लगेका छन् । आफ्नो क्षेत्रमा निकट व्यक्ती लाई स्थापित गराउने लाइनमा लागेका छन् उनी । सोही क्रममा वराहक्षेत्र नगरपालिकाको सभापतिमा रमेश कार्की र कोसी गाउँपालिकाको सभापतिमा सुलेमान मन्सुरी विजयी भएका छन् ।

हरीनगर गाउँपालिकामा पनि इतर पक्षका नुनु अन्सारी सभापति भएका छन् । सो क्षत्रमा देउवा पक्षका गफार अन्सारीको प्रभाव भए पनि अन्सारीले बाजी मारेका हुन् ।

त्यस्तै बर्जू गाउँपालिकामा कृष्ण सङ्ग्रौला, गढी गाउँपालिका सभापतिमा कमल चौधरी, देवानगन्ज गाउँपालिकामा जगधर यादव संस्थापन इतर पक्षबाट निर्वाचित भएका छन् ।

अधिवेशन बाकी रहेको गच्छदारको गृहनगर दुहबीमा आइतबार निर्वाचन सम्पन्न भएको छ । जिल्ला सभापति राजीव कोइराला निकट मानिएका वेदनारायण गच्छाधार विजयी हुने सम्भावना देखिएको छ ।

यसअघि विजय कुमार गच्छदार निकट उनी हाल दुहबीका मेयर समेत हुन् । त्यस्तै भोक्राह नरसिंह गाउँपालिकामा पनि इतर पक्षकै बलियो सम्भावना छ ।

यसअघि कुनै पनि पक्षमा नखुलेका जिल्ला सभापति कोइराला १४ औँ महाधिवेशनमा संस्थापन इतर पक्षमा खुलेर लागी परेका छन् । इतर पक्षबाट जिल्ला सभापतिका उम्मेदवार हरेका केदार भण्डारीलाई विजयी गराउन उनले सक्रियता देखाएका हुन् ।

पालिका अधिवेशनले आगामी जिल्ला नेतृत्वको सङ्केत गर्ने भएकाले धेरै नेताहरूले आ–आफ्नो पक्षमा मेहनत गरेका छन् । देउवा पक्षका दुई शीर्षस्थ नेताहरू कार्की, विश्वकर्मा र गच्छदारले समेत प्रभावकारी भूमिका देखाउन सकेका छैनन् । जसको कारण देउवा पक्षको प्रभावबाट सुनसरी बाहिर जाने सम्भावना देखिएको छ ।