धरान : ४२ औँ विश्व पर्यटन दिवस धरानमा पनि मनाइएको छ । धरान वडा नं. १४ स्थित धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा सरसफाइ कार्यक्रमको आयोजना गरेर विश्व पर्यटन दिवस मनाएको हो ।

सेछ ट्राभलिङ र सेवक अभियानको संयुक्त आयोजनामा विजयपुर चौक, दन्तकालि मन्दिर, दुई धारे क्षेत्रमा सरसफाइ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले पर्यटन दिवसको अवसरमा शुभकामना दिँदै धरानलाई शैक्षिक, स्वास्थ्य सँगसँगै पर्यटनको हबको रूपमा विकास गर्न सकिने बताए ।

विजयपुर क्षेत्रलाई आफ्नै मौलिक पहिचानको रूपमा स्थापित गर्नुपर्नेमा मेयर राईको भनाई थियो । मेयर राईले ग्रामीण पर्यटनको विकासमा काम गर्न सकियो भने ग्रामीण क्षेत्रका मानिसहरूको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने बताए ।

पर्यटनकर्मी एवं सेछ ट्राभलसङकी सञ्चालिका एलिना मगरले कोभिड १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताइन ।

उनले कोभिडका कारण देशको आम्दानीका स्रोतहरू घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिए पनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउनुपर्ने बताउँदै राज्यको आम्दानीको स्रोतको विकास गर्नका लागि देशभरिका डाँडाँहरुलाई घुम्न जाने नजिकको गन्तव्यको रूपमा विकास गरिनुपर्ने बताइन् ।

कार्यक्रममा उपमेयर मञ्जु भण्डारी, पर्यटनकर्मी वासुदेव बराल, सोही वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई, नेपाल प्रहरी, नगर प्रहरी, सङ्घ संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति हरेको थियो ।