धरान : प्रदेश स्तरीय गन्तव्यहरूको पहिचान र छनोट प्रयोजनार्थ सरोकारवालाहरू सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सहभागीहरूले एक नम्बर प्रदेशको पर्यटन करीडोर निर्माण गरी गर्नुपर्ने, कुनै ठाउँ विशेष भन्दा पनि समग्र प्रदेश भरीका पर्यटकीय गन्तव्यहरूको पहिचान गर्दै प्रचार प्रसार तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

कोभिड-१९ का कारण थला परेको पर्यटन क्षेत्रको विकासमा सहुलियतका कार्यक्रम ल्याउनु पर्ने भन्दै सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र नपरेको गुनासो गरे। अन्तर्क्रियामा कार्यक्रममा २५ जनाले आफ्नो सुझाव पेस गरेका थिए ।

प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै माननीय मन्त्री लछुमण तिवारी सहभागीहरूले दिएका सुझावलाई ग्रहण गर्ने र आवश्यक काम गर्ने भन्दै कार्यक्रमले पर्यटन व्यवसायीलाई अव फेरी अगाडी बढ्ने दिन आएछन् भन्ने कुराको अनुभूति गर्ने बताए।

प्रदेश सरकारले पर्यटकीय गुरुयोजनाका लागि आवश्यक बजेट व्यवस्था गरेकाले प्राप्त सुझाव समेतलाई आधार मानेर विज्ञ टोलीको गठन गरी गुरुयोजना निर्माण गर्ने बताए। निजी क्षेत्रको सहभागिता विना पर्यटन क्षेत्रको विकास सम्भव नहुने भन्दै सरकारको तर्फबाट छलफल तथा अन्तरक्रिया गर्दै सँगै अगाडी बढ्ने कुरामा जोड दिए।

सरकारले राखेको धारणा अनुसार कै सुझाव आएकाले आवश्यक नीतिको व्यवस्था गरी सरकारले काम गर्ने भन्दै अव नतिजा मुखी काम हुने बताए । यसैबिच विशेष अतिथिको आसनबाट बोल्दै माननीय राज्य मन्त्री उत्तम कुमार बस्नेतले पर्यटन क्षेत्रमा लगानी गर्नेहरूको लगानीको सुरक्षा सरकारले गर्नुपर्ने भन्दै नाफासँग नजोडिने क्षेत्रमा सरकारले लगानी गरी जनतालाई सुविधा दिनुपर्नेमा धारण राखे। दार्जिलिङ अरुण भ्याली पाँचपोखरी वाट खुम्बु क्षेत्रसम्म भर्जिन ल्यान्ड भएकाले पर्यटन विकासमा जोड दिनुपर्ने, सामान्य जनताले अनुभूति गर्ने गरी प्राकृतिक परिस्थितिमा पूर्वाधार विकास गरी पर्यटन विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहले देश सङ्घीयतामा गएपछि तिन तहका सरकारका क्षेत्राधिकारका विषमा केही अलमल भएकाले सोचे अनुसारको काम हुन नसकेको धारणा राखे । कार्यक्रममा प्रदेश पर्यटन विकास समितिका सभापति तथा सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।

प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयकोद्वारा आयोजित कार्यक्रममा पर्यटन व्यवसायी, होटेल ट्राभल एण्ड टुर गाइड, होमस्टे, स्टिम बोर्ड, उद्योग वाणिज्य सङ्घ, होटेल व्यावसायिक सङ्घ, याक तथा चौरी पालक सङ्घ लगायत पर्यटन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको उपस्थितिमा भएको कार्यक्रममा पर्यटनको विकास अवसर र चुनौतीका विषयमा गहन छलफल भएको थियो ।

pradesh-mantri