धरान : नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गरेको छ। धरान स्थित विजयपुर एफ.एम मा कार्यरत पत्रकार रमेश राई साङगेनलाई दुर्घटना बापतको पैँतिस हजार ५ सय रुपैयाँ आज हस्तान्तरण गरिएको हो। सुनसरीका अग्रज पत्रकार गिरिराज आचार्य र नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले संयुक्त रूपमा बिमा बापतको रुपैयाँ हस्तान्तरण गरेका हुन।

नेपाल प्रेस युनियनले प्रदेश १ का १४ वटै जिल्लाका युनियनका अध्यक्ष सहित सुनसरीका ३ सय सञ्चारकर्मी गरी कुल ३ सय १४ जनाको दुर्घटना बिमा गरेको थियो। सोही अनुसार केही समय अघि दुर्घटनामा परेका पत्रकार राईको उपचारमा लागेको खर्च बापतको रकम हस्तान्तरण गरिएको हो ।  उपचारमा लागेको खर्चका विल अनुसार युनियनको खातामा प्राप्त रकम हस्तान्तरण गरिएको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीले जानकारी दिए। केही समय अघि इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई पनि दुर्घटना बिमाकै सत्तरी हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो।

रकम हस्तान्तरण पछि अग्रज पत्रकार गिरिराज आचार्यले नेपाल प्रेस युनियनले पत्रकारको हकहितका लागि आवाज उठाउने मात्र नभई वस्तुगत ढङ्गले कल्याण र सुरक्षाको क्षेत्रमा पनि काम गरेको बताए। ‘कोरोना महामारीमा कोरोना बिमा कार्यक्रम र यो दुर्घटना बिमा कार्यक्रम पत्रकारको कल्याणकारी र जीवन सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान हो। ’ आचार्यले भने यस्ता कार्यले संस्थागत सुरक्षाको प्रत्याभूति हुँदै जानेछ। 

यस्तै नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषी राईले दुर्घटना बिमाको रकमले अप्ठ्यारोमा परेका पत्रकारलाई राहत पुगेको बताए । युनियन सुनसरीले गरेका रचनात्मक कार्यले महासङ्घ सुनसरीलाई पनि काम गर्न रचनात्मक दबाब पुगेको अध्यक्ष राईले बताए । रकम हस्तान्तरण कार्यक्रममा प्रतिक्रिया दिँदै विजयपुर एम.एमकी निर्देशक हिमाल राईले पत्रकारहरूको सुरक्षाका लागि गरिएको दुर्घटना बिमा कार्यक्रम निकै राम्रो रहेको बताए । यस्ता कार्यक्रमले पत्रकारहरू आफ्नो कार्यक्षेत्रमा खटिएर काम गर्न अझै उत्प्रेरित गर्ने बताए ।

नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले पत्रकारको पेसागत र जीवन सुरक्षाका लागि अन्य रचनात्मक कार्यक्रम गर्ने योजना रहेको बताए। कोरोना सङ्क्रमणबाट सङ्क्रमित भई निको हुने पत्रकारहरूको कोरोना बिमा बापतको रकम प्राप्त भएकाले केही समयमा वितरण गरिने पनि जानकारी दिए।