धरान : प्रदेशको विभिन्न जिल्लामा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुको लिखुपिके-५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरहरूको माथिबाट ढिस्को झरी एक जना मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा खोटाङ का २८ वर्षीय रामकृष्ण राई र घाइते हुनेहरूमा दोलखा जिरी-२ का २१ वर्षीय जगत श्रेष्ठ र ओखलढुङ्गा मोलुङ-८ का २८ वर्षीय प्रविन्द्र राई रहेका छन् ।

आज बिहान ३ बजे सुरुङमा काम गरिरहेको अवस्थामा रामकृष्णको ढिस्को झरी अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमानै मृत्यु भएको थियो भने जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाइते भएका थिए ।

घाइतेहरूलाई उपचारको लागी हेलिकप्टरबाट केएमसी हस्पिटल काठमाडौँ लगिएको छ । घटना स्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।

यस्तै ताप्लेजुङ सिरिजंघा गाउँपालिका ४, तेल्लोक स्थितमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय इन्द्र भट्टराई रहेका छन् । हिजो बेलुका ७ बजे पूर्वबाट पश्चिम आउँदै गरेको मे १ त ६३९९० नम्बरको ट्याक्टरले पैदल यात्री भट्टराईलाई ठक्कर दिई घटनास्थलमानै मृत्यु भएको हो ।

ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बु इलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यसै गरी उता उदयपुर बेलका नगरपालिका-३ त्रिवेणी चोक स्थित भित्री सडक खण्डमा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ७० वर्षीय हरिण्य बहादुर बस्नेत रहेका छन् । हिजो बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ गइरहेको बा.६६ प ६०५३ नम्बरको स्कुटरले ठक्कर दिई घाइते भएका पैदल यात्री बस्नेतको घोपा धरानमा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको हो ।

स्कुटर र चालक सोही स्थानका २६ वर्षीय एकराज बि.क.इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यसै गरी सुनसरी दुहबी नगरपालिका ९ का ५५ वर्षीय रुदन ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिनको साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषिदेवको करेन्ट लागी मृत्यु भएको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको छ ।