धरान : ताप्लेजुङमा किशोरीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

शव फेला परेको तीन दिनपछि ती किशोरीको हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका वडा नं.-१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। तीन दिनअघि अर्थात् गएको शुक्रबार बिहान फुङ्लिङ नगरपालिका-७ दोखुको सेती चौतारा नजिक निगाले भीरमा १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको शव फेला परेको थियो।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-३ लिङ्खिम घर भई हाल सदरमुकाम फुङ्लिङको बिहीबारे टोलमा डेरा गरी बस्दै भएकी पुष्पाको शव शङ्कास्पद अवस्थामा फेला परेपछि सोहीअनुसार प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। पीडित परिवारले समेत पुष्पाको हत्या भएको र हत्यामा संलग्नता हुनसक्ने भन्दै पक्राउ गरी अनुसन्धान गर्न भनी ती युवक माथि नै किटानी जाहेरी दिएका थिए।

पीडित परिवारको किटानी जाहेरी र घटनाको अनुसन्धानको क्रमसँगै पक्राउ परेका युवकले आफैँले हत्या गरेर शव फालेको भनी स्वीकारेपछि प्रहरीले सार्वजनिक गरेको हो।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार हत्या आरोपी कार्की र किशोरी बिच आठ-नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्ध समेत भएको र विवाहको प्रसङ्ग उठाउँदा अस्वीकार गरेपछि विवाद हुँदा आफूले हत्या गरेको कार्कीले प्रहरी समक्ष बयान दिएका छन्।

लामो समयदेखि नै आफूलाई गालीगलौज गर्ने तथा अनावश्यक तनाव दिने गरेका कारण योजनामै हत्या गरेको समेत कार्कीको बयान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।