धरान : च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको दोस्रो चरणको खेल अन्तर्गत सोमबार भएको प्रि-क्वाटर र क्वाटर फाइनलमा विजयी हुँदै च्याम्स, एफविसि, आयोजक मितेरी र ग्याँटिस टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटर फाइनल खेलमा च्याम्सले कम्व्याट टिमलाई ४-१, मितेरिले एफएफसिलाई ४-१ र ग्याटिसले जिजिएफसिलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै गरी एफविसि र चेल्सि वि टिम निर्धारित समय सम्म बराबर दुई दुई गोल भएपछि टाइवेकरमा २-१ गोल अन्तरले पराजित गर्दै एफविसि टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा आयोजित प्रतियोगितामा आज मात्र प्रिक्वाटर र क्वाटर फाइनल गरी १३ खेल सम्पन्न भएको थियो । भोलि मङ्गलवार बिहान ११ बजे देखि सेमिफाइनल र फाइनल खेल दुवै एकै दिन हुने मितेरी फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी दिए ।

धरान-११ नवकला चोकमा रहेको मितेरी फुटसलमा सम्पन्न प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले पचपन्न हजार ५ सय ५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

त्यस्तै गरी उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाएको थियो । मङ्गलवार हुने फाइनल खेल एन्फा पूर्व प्रवक्ता एवं सदस्य किरण राईको प्रमुख अतिथिमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

तस्विरः विकास चाम्लिङ राई

Footsal-1 Footsal-2