इटहरी : नेपाली काँग्रेस इटहरीका नवनिर्वाचित सभापति हेमकर्ण पौडेलले आफूसँग पराजित विकास केसीको सल्लाह अनुसार नै पार्टी सञ्चालन गर्ने बताएका छन्।

निर्वाचन समितिले सोमबार आयोजना गरेको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै उनले निर्वाचित र पराजित सबै साथीको सल्लाह अनुसार अगाडी बढ्ने बताए।

अधिवेशनको बेला नेता कार्यकर्ताहरू दुई ध्रुवमा बाँडिएका भए पनि मत परिणाम पश्चात् कुनै आग्रह राख्न नहुने उनको भनाई छ । हिजो भएका गल्लीलाई करेक्सन गर्दै व्यवहार र आचरण सुधार गर्ने बाचा गरे । केही महिनामै स्थानीय तहको निर्वाचन हुने भन्दै उनले पार्टी एक भएर लैजाने प्रतिबद्धता जनाए ।

निर्वाचनको बेला एक्लो मानिस काफी नहुने बताएका पौडेलले सबै क्रियाशीलको भावना कदर गर्ने बाचा गरे । “म मेरो व्यवहार र आचरण सच्याउँछु । यो मेरो तेस्रो कार्यकालमा कसैलाई दुखाउने छैन । चित्त दुखाउने साथीलाई समेट्छु,” उनले भने ।

शनिवार सम्पन्न निर्वाचनमा केसीलाई पौडेलले ४२ मतान्तरले पराजित गरेका थिए ।

हेमकर्ण पौडेललाई काँधमा बोकेर चुनावी अभियानमा लाग्न तयार छु : केसी

नेपाली काँग्रेस इटहरीका सभापतिका प्रत्याशी उम्मेदवार विकास केसीले नवनिर्वाचित सभापति हेमकर्ण पौडेलसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । अधिवेशनको नतिजा लोकतान्त्रिक पद्धतिबाट आएकाले सबैले स्वीकार गरेर अगाडी बढ्नुपर्ने उनले बताए ।

आफ्ना शुभेच्छुक कार्यकर्तालाई सम्झाउँदै उनले यो काँग्रेसको जित भएकाले एक सेकेन्ड पनि दुःख नमान्न आग्रह गरे । “हेमकर्ण र विकास जसले जितेपनी यो काँग्रेसको जित हो । अधिवेशनले कार्यकर्तालाई उत्साहित गरेको र यो उत्साह आगामी निर्वाचन सम्म कायम राख्नुपर्छ । अर्को पार्टी को उम्मेदवारी हैन नेपाली काङ्ग्रेसकै उम्मेदवार भएकोले म प्रसन्न छु ।, उनले भने, अब नेतृत्वले अहङ्कार र घमन्ड त्याग्नुहोला ।”

नेकपा एमाले चुनावी तयारीमा लागी सकेको बताउँदै उनले आफू हेमकर्ण पौडेललाई काँधमा बोकेर चुनावी अभियानमा लाग्न तार रहेको धारणा राखे । निर्वाचनको समयमा कार्यकर्ता सँग पार्टी अफिस बनाउन र वार्षिक रूपमा क्रियाशील भेला गर्ने बाचा गरेकोले नेतृत्वले त्यसमा ध्यान दिनुपर्ने बताए ।

नवनिर्वाचित कार्यसमितिलाई बारम्बार प्रश्न र सहयोग गर्न तयार रहेको बताउँदै उनले कार्य सफलताको शुभकामना दिए ।