चतरा : राजावास फुटबल क्लब राजावासलाई पराजित गर्दै हाटखोला फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटर फाइनल खेलमा राजावासलाई २-१ को गोल अन्तरले पराजित गर्दै हाटखोलाले सेमिफाइनलको यात्रा तय गरेको हो।

सोमवार वराहक्षेत्र १ स्थित कुम्भस्तभ अगाडिको खेल मैदानमा भएको खेलको सुरुवातमै हाटखोलाले अग्रता लिएको थियो । खेलको ९ औँ मिनेटमा राहुल राईले गोल गर्दै हाटखोलालाई अग्रता दिलाएका थिए । तर अग्रता लिएको ८ मिनेट बित्न नपाउँदै राजावास खेलमा फर्केको थियो । खेलको १७ औँ मिनेटमा विमल राईले राजावासकालागि बराबरी गोल गरेका थियो ।

पहिलो हाफसम्म बराबरी भएको खेलको ५७ औँ मिनेटमा हाटखोलाले पुर्न अग्रता लिएको थियो । हाटखोलाका दिपेश तामाङले गोल गर्दै टिमलाई २-१ गोलको अग्रता दिलाउन सफल भएका थिए । त्यस पछि दुवै टिमबाट कुनै गोल हुन नसके पछि हाटखोला २-१ ले विजयी भएको थियो ।

खेलमा निर्णायक गोल गरेका हाटखोलाका दीपेश तामाङ म्यान अफ द म्याच घोषित भएका छन् । उनले नगर १ हजार र ट्रफी प्रप्त गरे । मङ्गलवार तेस्रो क्वाटर फाइनल खेल पञ्चकन्या फुटबल क्लब बेलका र जेएसवाई सी मोरङ्गका बिच हुनेछ । ८ टिम सहभागी जनाएको प्रतियोगिताको विजेताले ४५ हजार उपविजेताले २० हजार र ट्रफी प्राप्त गर्नेछ ।