धरान : मेयर तिलक राईले धरानलाई शिक्षा, स्वास्थ्य, धार्मिक पर्यटन सँगसँगै धरानमा रहेका साहसिक खेलहरूलाई पनि पर्यटनको रूपमा अगाडी बढाउन सकिने बताएका छन् ।

सोमबार पर्यटन कार्यालय धरानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मेयर राईले ‘विश्व पर्यटन दिवस’को अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् ।

मेयर राईले धरानमा प्याराग्लाईडिङ, रे्याफ्टीङ, साईकलिङ लगायत साहसिक खेलहरूलाई पनि पर्यटनको रूपमा विकास गर्न सकिने बताए । साथै, धरानको पहाडी क्षेत्रमा होम स्टे सञ्चालन गरेर पनि पर्यटन भित्र्याउन सकिने मेयर राईले बताए ।

‘होम स्टे, प्याराग्लाईडिङ, रे्याफ्टीङ, साईकलिङ लगायत साहसिक खेलहरूमा राज्य र स्थानीय सरकारले लगानी गर्नुपर्छ, म आफै पनि स्थानीय तहमा छु, तर, हामीले कस्तो कार्ययोजना बनाउने ? कसरी जाने ? भनेर भर्खर सुरु मात्रै हुँदैछ,’ मेयर राईले भने ।

मेयर राईले आन्तरिक सहकार्य नभएर धरानमा अहिलेसम्म सूचना केन्द्र बन्न नसकेको बताए । आन्तरिक समन्वय सहकार्य गरेर मात्र धरानमा अघि बढ्न सकिने मेयरको भनाई थियो । पर्यटन कार्यालय धरानका प्रमुख जितेन्द्र राईले कोसी करिडोरसँग जोडिएका जिल्लाहरू कार्यक्षेत्र रहेको बताउँदै पर्यटन सम्बन्धी प्रचार प्रसारको काम पर्यटन कार्यालयले गर्ने बताए ।

धरानमा पर्यटन प्रवर्द्धन गर्नका लागि पनि सहकार्य गरेर अघि बढ्ने उनले बताए । धरान उपमहानगरपालिकाका पर्यटन समितिका सहसंयोजक मदन ढकालले धरानको मुख्य प्रवेशद्वार तीनकुनेमा सूचना केन्द्र बनाउन आवश्यक रहेको बताए ।

उनले सूचना केन्द्र निर्माण गर्न सकियो भने धरानको पर्यटन क्षेत्रलाई माथि उठाउनका लागि ठुलो भूमिका खेल्ने बताए । सुनसरी उद्योग वाणिज्य सङ्घ पर्यटन प्रवर्द्धन समितिका सदस्य एलिना मगरले कोरोनाले पर्यटन क्षेत्रलाई शिथिल बनाएको बताइन् ।

प्रदेश वन निर्देशनालय धरानका प्रमुख निर्देशक रवीन्द्र महर्जनले राजमार्ग आसपासका सिमसार क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने काम भइरहेको बताए । हाम स्टे एसोसिएसनका केन्द्रीय सदस्य अनिल राणा मगरले प्रदेश एकमा ९८ वटा सामुदायिक होम स्टे र २२ वटा निजी होम स्टे रहेको जानकारी दिए ।

उनले कोभिड-१९ को कारण पर्यटन सम्बन्धी गतिविधि गर्न नपाएको बताए । स्वास्थ्य प्रोटोकलको पालना गर्दै असोज १ गतेदेखि भने इलामको श्री अन्तु र धनकुटाको नाम्जे थुम्की होम स्टे सञ्चालन गरिएको उनले जानकारी दिए । उनले अहिले दैनिक ५० देखि १ सयको हाराहारीमा पर्यटनहरू होम स्टेमा बस्न आउन थालेको पनि जानकारी दिए ।